८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


विभिन्न स्थानीय तहका ४१ पदमा उपनिर्वाचन सम्पन्न


1.508k
Shares

काठमाडौं । देशका विभिन्न स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आइतबार मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म भएको मतदानको गणना अधिकांश स्थानमा आइतबारबाट नै शुरु हुँदैछ भने केही स्थानमा भने सोमबार मात्रै गरिने छ ।

२०७९ बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट चुनिएका जनप्रतिनिधको मृत्यु वा राजीनामाका कारण रिक्त बनेका ४१ वटा पदका लागि उपनिर्वाचन सम्पन्न भएको हो । एक नगरपालिका प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र ३३ वडा अध्यक्ष गरि ४१ पदका लागि मतदान भएको हो । ४१ पदका लागि २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरि कुल ३ सय ७६ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका हुन् । निर्वाचन आयोगका अनुसार करिब ६२ प्रतिशत मत खसेकोे छ । उपनिर्वाचनमा सबैभन्दा चर्चामा रहेको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि ११ जना स्वतन्त्रसहित २० जना मैदानमा छन् । काँग्रेसबाट कृष्णमान डङ्गोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन र राप्रपाबाट ध्रुव महर्जनसहित २० जना उम्मेदवार रहेका छन् ।

उता, जाजरकोटको नलगाड नगरपालिको उपप्रमुखका काँग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहोरा, माओवादीबाट देवका लामिछाने, रास्वपाबाट पार्वती पुनसहित ६ जना उम्मेदावार प्रतिस्पर्धामा छन् । यस्तै मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका लागि १६ जना, दैलेखको महाबु गाउँपालिकाका अध्यक्षमा ७ जना, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष ६ जना, दोलखाको गौशीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा ३ जना र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा दुई जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

काठमाडौंका कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को उपनिर्वाचनमा मतदाताको ठूलो उत्साह नदेखिए पनि किशोरकिशोरीदेखि ज्येष्ठ नागरिकले मतदान गरे । उपनिर्वाचन भएकाले पनि खासै उत्साह नभएको मतदाताहरुको भनाइ छ । केही मतदाताहरुले मताधिकार प्रयोग गर्न पाउनु मात्रै खुशीको कुरा नभएको बताएका छन् । नयाँ जनप्रतिनिधिले आफ्रनो क्षेत्रका लागि राम्रो काम गर्नुपर्ने उनीहरुको धारणा छ ।

पछिल्ला वर्षहरुमा प्रत्येक निर्वाचनमा मतदाताहरुको उत्साह कम हुँदै गएको देखिएको छ । राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचनका बेला गर्ने प्रतिवद्धता फगत कुरामा मात्रै सिमित भएकाले मतदाताहरुमा जो आए पनि उस्तै हो भन्ने भावना विकास भएको हो । केन्द्रदेखि स्थानीय तहसम्मका राजनीतिकर्मीले बोली र व्यवहारमा सुधार गरेर आफूलाई सच्याउन सकेनन भने आगामी निर्वाचनहरु झन् निरश हुने पक्का छ ।