१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


मतदान गर्न पाउने नागरिकको अधिकारको सदुपयोग गरौं : उपप्रधानमन्त्री सिंह


0
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं महानगरपालिका १६ को वडाध्यक्षको निर्वाचनका लागि मतदान गर्नुभएको छ । आइतवार बिहान उपप्रधानमन्त्री सिंहले पकनाजोलस्थित मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो ।

०७९ को निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि अहिले उपनिर्वाचन भइरहेको हो । मत हालेपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उपप्रधानमन्त्री सिंहले निर्वाचनका लागि राम्रो व्यवस्थापन गरेको पाएको बताउनुभयो ।

उहाँले बिहानको समयमा चिसो भएकाले आम नागरिकहरु नआएपनि दिउँसो आफ्नो अधिकार प्रयोग गरेर राम्रो वडाध्यक्ष चयन गर्नका लागि मतदान गर्न आउने अपेक्षा गर्नुभयो । उहाँले मतदान गर्न पाउने नागरिकको अधिकारको सदुपयोग गर्न आह्वान गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘बिहानको समय छ । काठमाडौंको मौसम ठण्डाठण्डा भएको हुनाले अलि घाम लागेपछि यहाँ भीडभाड बढ्ला । निर्वाचनको व्यवस्थापनदेखि सबैकुरा राम्रो छ । बढी भन्दा बढी मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेर एउटा राम्रो वडाध्यक्ष बन्नको लागि मतदान गर्नुहोला । यो तपाईंहरुको अधिकार हो, त्यसको सदुपयोग गर्नुहोला ।’

काठमाडौं– १६ मा नेपाली काँग्रेसबाट देवेन्द्र पाठक, नेकपा एमालेबाट लक्ष्मीरत्न तुलाधर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रोजिना श्रेष्ठ र एकीकृत समाजवादीबाट (माओवादीको समर्थनमा) मीनबहादुर मानन्धर चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।