काठमाडौं । एमेच्योर गल्फर राहुल विकले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् ।
अन्तिम दिन ५-अण्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२-अण्डर २७६ को नतिजामा अनुभवी प्रो तोरण विक्रम शाहीलाई एक स्ट्रोकले हराउँदै युवा गल्फर राहुलले करियरको पहिलो उपाधि जितेका हुन् ।
एमेच्योर गल्फरको रूपमा सूर्य नेपाल टुरको प्रो उपाधि जित्ने उनी पाँचौ खेलाडी बनेका छन् । अन्तिम १८ होलको खेल सुरु गर्दा राहुल र सदभाव विरूद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो । उपाधि जित्ने सम्भावना तोरणको उच्च थियो । तर पहिलो पटक फाइनलमा ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरे । दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । बोगीरहित फ्रन्ट नाइन खेले। फ्रन्ट नाइन ४-अण्डर ३२ मा सकाए ।
यता लगातार तीन दिनका लिडर तोरणले पहिलो होलको बोगी विरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए । फ्रन्ट नाइनको खेल सकिँदा राहुलले खेललाई बराबरीमा पु¥याए । तोरण र राहुल समान ११–अण्डरमा थिए । यसपछि बाकी नौ होलको खेलमा तोरण र राहुलको कडा प्रतिष्पर्धा चल्यो ।
राहुलले ११ औं र १२औं होलमा बर्डी प्रहार गरे । तोरणले भने १० औं र १३ औं होलमा एक–एक सट बचाए भने १५ औं होलमा बोगी प्रहार गर्दा १५ औं होलको खेल सकिंदा खेल बराबरीमा पुग्यो । १६ औं होल राहुलको लागि टर्निङ प्वाइन्ट बन्यो । उनले करिब २५ फिटबाट बर्डी प्रहार गरे ।
राहुलले एक स्ट्रोकको अग्रता बनाए । १७ औं होलमा दुवैले बोगी र १८औं होलमा दुवैले पार खेल्दा राहुलले एक स्ट्रोकको अग्रतामा उपाधि जिते । राहुलले दाबेदार सदभावलाई ५ स्ट्रोकले हराउँदै एमेच्योरतर्फको पनि उपाधि जिते ।
डिफेन्डिङ च्याम्पियन सदभाव आचार्यले समग्रमा ७-अण्डर २८१ सहित तेस्रो भए । उनले आज इभन-पार ७२ मा खेल सकाए । एमेच्योरतर्फ उनी दोस्रो भए । समग्रमा ३-अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले संयुक्तरुपमा चौथो स्थान बाँडे । निरजले आज १-ओभर ७३ र भुवनले २-अण्डर ७० मा खेल सकाए । उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ भाइस प्रेसिडेन्ट दीप्रा लहरी र पिजिए नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कार वितरण गरे । चार दिने प्रतियोगितामा कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको थियो । प्रतियोगितामा ३४ प्रोफेसनल र १३ गरी कुल ४७ खेलाडीले प्रतिष्पर्धा गरे । सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लबमा हुने छ ।
प्रतिक्रिया दिनुहोस्