२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन : प्रदीप ज्ञवाली


1.157k
Shares

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको मोडालिटीबारे सत्तारुढ दल कांग्रेस-एमालेभित्र नै फरक धारणा आईरहेका बेला उहाँले त्यसलाई गिजोल्न गरी विवादमा तान्न नहुने बताउनुभएको हो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले सो परियोजना चीनसँगको द्विपक्षीय सम्बन्धको मामिला भएकाले त्यसमा अन्य राष्ट्रले चासो लिनु उचित नभएको बताउनुभयो । उहाँले नेपालले कुनैपनि देशको अहित नचाहने भएकाले अन्य देशले पनि नेपालको आन्तरिक मामिलामा चासो लिन नहुने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सो परियोजनालाई राष्ट्रिय सहमती जुटाएर मात्रै अघि बढाउन उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले सो परियोजनामा सत्तारुढ कांग्रेस-एमाले पनि साझा निष्कर्षका साथ अघि बढनुपर्ने आवश्यकता समेत औँल्याउनुभयो ।

सांसद यादवले परराष्ट्र नीतिलाई अघि बढाउने सम्बन्धमा राजनीतिक दलका नेताहरु जिम्मेवार भएर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो ।