२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


एक महिनाभित्रै औषधीको मुल्य समायोजन गर्छौ : स्वास्थ्यमन्त्री पौडेल


689
Shares

पर्वत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधीको मुल्य समायोजन गरिने बताउनुभएको छ ।

पर्वत अस्पतालको निरिक्षण तथा डिजिटलाईजेशन उद्घाटन समारोहलाई मंगलवार सम्वोधन गर्दै मन्त्री पौडेलले औषधीमा फार्मेसी व्यावसायी र कम्पनीवाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मुल्य समायोजन गर्न थालिएको बताउनुभयो । सरकारले मुल्य समायोजन गरेपछि सोही मुल्यसूचीका आधारमा मुलुकभर औषधीहरु खरिद बिक्री हुने र बिरामीहरु ठगिन नपर्ने उहाँको भनाइ छ । उहाँले औषधीको मुल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो । विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सवैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन् र उपचारको अभावमा कसैले पनि अकालमा मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उहाँको भनाइ छ ।

मन्त्री पौडेलले तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको पालामा शुरु भएको स्वास्थ्य बिमा कार्यक्रमलाई परिमार्जन गर्ने तयारी भइरहेको बताउनुभयो । तत्कालीन अवस्थामा एक लाख रुपैयाँको स्वास्थ्य बिमा रहेकोमा अब यसलाई बढाएर रु. पाँच लाख पु¥याउने योजना रहेको बताउनुभयो ।

उहाँले यसका लागि रोजगारीमा आवद्ध कर्मचारीहरुवाट मासिक तलबको २ प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गर्ने व्यवस्था गरिने पनि बताउनुभयो । यसवाट पैसा नभएकाहरुको पनि उपचार गर्न सहज हुने उहाँको भनाइ छ । सरकारले उठाउने सबैखाले करमा पनि शुन्य दशमलब पाँच प्रतिशत बिमा कोषमा जाने व्यवस्था गरिनुपर्ने भन्दै अहिले उठ्ने स्वास्थ्य बिमा करलाई तेब्बर बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले मुलुकभरीका १६ लाख किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लगाउने व्यवस्था गरिएको बताउँदै अहिले खोप भण्डारणको काम भइरहेको बताउनुभयो । त्यस्तै १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको निशुल्क उपचार गरिने जस्ता कार्यक्रमले धेरै लाभान्वित भएको बताउनुभयो ।

अर्को प्रसंगमा मन्त्री पौडेलले श्रोतको अभावका कारण स्वास्थ्य क्षेत्रलाई चाहे अनुरुप विकास गर्न नसकिएको बताउनुभयो । उहाँले श्रोतको व्यवस्थापन गरेर स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लजाने योजना समेत सुनाउनुभयो ।

सो अवसरमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले अस्पतालको सुधारका लागि आवश्यक विभिन्न कुराहरु समेटिएको मागपत्र पेश गर्नुभएको छ । मन्त्री पौडेलले मागपत्र बुझ्दै पर्वत अस्पतालको विकास र गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।