काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार मंसिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने भएका हुन् । खेल कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।
मंसिर १६ गते उपनिर्वाचनका कारण कुनै खेल राखिएको छैन । त्यसपछि हरेक दिन दुई खेल हुनेछन् । पहिलो खेल बिहान सवा ९ बजे र दोस्रो खेल दिउँसो सवा १ बजे हुनेछ ।
लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्नेछन् । लिगको शीर्ष दुईमा रहने टोलीले सिधै क्वालिफायर खेल्ने छन् । तेस्रो र चौथो स्थानका टोलीले भने एलिमिनेटर खेल्ने छन् । दुवै खेल पुस ३ गते हुनेछन् ।
क्वालिफायर १ मा पराजित भएको टोली र एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछन् । यी दुईबीचको विजेताले क्वालिफायर १ को विजेतासँग पुस ६ गते फाइनल खेल्ने छ ।
पहिलो संस्करणको एनपिएल क्रिकेटमा जनकपुर बोल्ट्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदुपश्चिम रोयल्स सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्