काठमाडौं । नेपाल चेम्बर अर्फ कमर्सले निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नको लागि राज्यले एकल कर प्रणाली बनाउन माग गरेको छ ।
सोमबार नेपाल चेम्बर अफ कमर्सले कर सप्ताह अन्तर्गत आन्तरिक राजश्व विभागसँगको अन्तरक्रिया कार्यक्रममा चेम्बरले यस्तो माग राखेको हो ।
सरकारको दोहोरो कर नीतिको कारणले उद्योगी व्यवसायीहरुलाई व्यवसाय सञ्चालन गर्न समस्या भएको बताएको छ । चेम्बरले कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्ने उल्लेख ग¥यो ।
कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले राजनीतिक विकेन्द्रिकरण मात्रै नभएर आर्थिक एकिकरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आर्थिक एकिकरण भएमात्रै पनि निजी क्षेत्रमा रहेका विभिन्न किसिमका अन्योलताहरु हट्ने बताउनुभयो ।
अध्यक्ष अग्रवालले पछिल्लो समय बजारमा नक्कली भ्याटबिलको समस्याले व्यवसायीहरुमा त्रास सिर्जना गरेको बताउनुभयो । उहाँले केही खराब व्यवसायीको कारण सकारात्मक रुपका काम गरिरहेका व्यवसायीहरु मारमा परेको बताउनुभयो । उहाँले सरकारले नक्कली भ्याटबिल जारी गर्ने व्यवसायीलाई छानविन गरी गल्ती नगर्ने व्यवसायीहरुले नक्कली भ्याटबिलको विषयमा उन्मुक्ति पाउनुपर्ने बताउनुभयो ।
अध्यक्ष अग्रवालले आयकर ऐनमा पनि परिमार्जन आवश्यक रहेको बताउनुभयो । उहाँले आयकर ऐन दफा ५७ ले धेरै अफ्यारो बनाएको भन्दै ट्रान्सफर मूल्य नै किटान गर्न नसकिएको बताउनुभयो । उहाँले सम्पती शुद्धिकरण ऐनमा व्यवसायीक कारोबारलाई व्यक्ति खातामा कारोबार गर्र्न नपाउने व्यवस्था कार्यान्वयनको लागि सम्पूर्ण व्यवसायीहरुको सम्पति अभिलेखिकरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सरकार अब प्रतिष्पर्धी कर नीति अपनाउनुपर्नेमा जोड दिनुभयो ।
आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले पछिल्लो समय १८ कम्पनी स्थापना गरी आवश्यकताअनुसारको नक्कली भ्याट बिलको कारोबार गरिरहेको बताउनुभयो । उहाँले उद्योग वा बजारबाट उत्पादन किनेको र पैठारी गरेर ल्याएको मात्रै समान बेच्न पाउने कम्पनीले भ्याट बिल जारी गरी सामान बेच्न पाउने बताउनुभयो । तीन वटै स्रोत शुन्य भएपनि कम्पनीमार्फत करोडौंको कारोबार गरेर भ्याटबिल काटिरहेको बताउनुभयो ।
महानिर्देशक आचार्यले अहिले बजार यस्तो खालको फण्डामा परेको बताउनुभयो । उहाँले नक्कली भ्याट बिलको विषयमा विभागले अहिले पनि अनुसन्धान गरिरहेको बताउनुभयो ।
महानिर्देशक आचार्यले आयात निर्यातमा पनि नक्कली भ्याट बिल र कम्पनीको सूचना विभागलाई रहेको भन्दै अनुसन्धान गरि रहेको बताउनुभयो । उहाँले गलत नगर्ने व्यवसायीहरुलाई पनि नक्कली भ्याट बिलका विषयले अफ्ठ्यारो बनाएको र प्रतिष्पर्धी बजारलाई असर गरेको बताउनुभयो । उहाँले गलत क्रियाकलाप निराकरण गर्ने काम कर प्रशासनको मात्रै भनेर बस्न नमिल्ने भन्दै निजी क्षेत्रले पनि गर्नुपर्ने बताउनुभयो ।
महानिर्देशक आचार्यले निजी उद्योगी व्यवसायीहरुले दुईतिर कर तिर्नु नपर्ने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीहरुले दुईतिर कर तिरिरहेको भए प्रमाण राख्न आग्रह गर्नुभयो । उहाँले नेपालमा दोहोरो कर लागू नहुने उल्लेख गर्नुभयो । उहाँले व्यवसायीक कारोबार व्यक्तिगत खातामा गएको सूचना विभिन्न ठाउँबाट विभागलाई आएको दाबी गर्नुभयो । चेम्बरले सूचना निकालेर आफू मातहतका व्यवसायीहरुलाई सचेत गराउन आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्