Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


दाहालद्वारा चिनियाँ क्रान्तिका ऐतिहासिक स्थल अवलोकन


0
Shares

काठमाडौं, भदौ ३१ । चार दिने चीन भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको अवलोकन गरेका छन् ।

दाहालले आइतबार सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको सातौं महाधिवेशन स्थलको अवलोकन गरे । उक्त महाधिवेशनले चिनियाँ क्रान्तिलाई विजयमा पु¥याउने ऐतिहासिक निर्णयहरु गरेको मानिन्छ । दाहालले आइतबार नै सन् १९४२ मे मा सम्पन्न ऐतिहासिक येनान साहित्यिक गोष्ठी स्थलको अवलोकनसमेत गरे । सोही सन्दर्भमा उनले येनानमा सन् १९३८ देखि सन् १९४५ सम्म रहेका माओले पहाड खोलेर बनाईएको घरको अवलोकन गरे ।

सो स्थानमा माओले प्रयोग गरेका कोठा, पुस्तक, टेबुल, पत्रपत्रिका आदिको पनि दाहालले अवलोकन गरे । उनले त्यसपछि येनानमा बनेको प्यागोडा शैलीको नौ तले टावरको अवलोकन गरे । उक्त स्थानबाट येनानको सानो भ्याली देखिन्छ ।

त्यसको ठीक माथिल्लो डाँडामा प्यागोडा शैलीको मन्दिर छ । उक्त स्थानबाट चिनियाँ लालसेनाले दुश्मनको निगरानी गर्ने गर्दथ्यो ।

सोही स्थानमा जनयुद्धको समयमा माओका लालसेनाले जापानी सेनाका लगभग १ सय जनालाई नियन्त्रणमा लिई प्रशिक्षण दिई जापानी आक्रमणकारीको बिरुद्धमा तयार पारेको थियो । त्यसैगरी उक्त स्थानमा चाउयनलार्इ प्रधानमन्त्री भईसकेपछि गाडीमा आउँदा गाडी फसेपछि जनताले निकालिदिएका थिए । तत्कालै प्रधानमन्त्रीको आदेशमा सरकारले उक्त स्थानमा पुल निर्माण गरेको थियो । त्यस पुललाई आजभोलि मानिसहरु प्रधानमन्त्री पुलको नामले सम्बोधन गर्दछन् ।

स्थानीय उपमेयर, पार्टीका नेताहरु र जनमुक्ति सेना पोशाक नै लगाएर अध्यक्ष दाहालको स्थागत गर्दै अवलोकनमा सहभागी बनेका थिए । अवलोकनको क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ सरकार र चिनियाँ जनताले चिनियाँ क्रान्तिमा महत्वपूर्ण स्थान राख्न सफल ऐतिहासिक स्थलहरुको संरक्षण गरेर विश्वभरीकै मुक्तिकामी जनताको निम्ति क्रान्तिलाई अध्ययन गर्ने महत्वपूर्ण सामाग्री प्रदान गर्ने काम गरेको बताए । उनले अवलोकन गरिएका स्थलहरुका बारेमा पुस्तकमा पढेको, तर अहिले प्रत्यक्ष अवलोकन गर्दा खुसी लागेको बताए ।

आइतबार बिहान अध्यक्ष दाहाल ग्वान्जाओबाट सान्सी प्रान्तका लागि प्रस्थान गरेका थिए । उक्त सहर विश्वकै ठूलो मोटरसाइकल फ्याक्ट्रीका लागि प्रसिद्ध छ । सो प्रान्तका विदेश विभाग प्रमुखले अध्यक्ष दाहालको स्वागत गरेका थिए । दाहालले मोटरसाइकल, मोटर र सूचना प्रविधि सम्बन्धी उद्योगहरुको समेत अवलोकन गरेका थिए ।

उनले आफूले नेतृत्व गरेको पार्टीले सञ्चालन गरेको जनयुद्ध कै जगमा गणतन्त्र आएको उल्लेख गर्दै आफूहरुले माओ र चाओबाट धेरै सिकेको बताए ।