१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारवाही : मन्त्री पाण्डे


546
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरुको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरुलाई कारवाही गर्ने चेतावनी दिनुभएको हो । उहाँले उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिनुभयो ।

गत शुक्रवारदेखि दैनिक १० घण्टा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर विमानस्थल निर्माणको काम शुरु भएदेखि वायुसेवा कम्पनीहरुले मनपरी हवाई भाडा वृद्धि गरेको गुनासो यात्रुहरुले गर्दै आएका छन् । सो विषयमा मन्त्री पाण्डेले हवाई भाडा वृद्धिबारे आफूले परराष्ट्रमन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छलफल गरिसकेको बताउनुभयो ।

तीन मन्त्रालयको समन्वयमा विमान सञ्चालकहरुसँग पनि छलफल गरी बढी भाडा नलिन निर्देशन दिएको मन्त्री पाण्डेले बताउनुभयो । हवाई भाडा बढेका विषयमा ५ बुँदे निर्णय गरी ट्राभल एजेन्सीहरुले टिकटहरु होल्ड गर्ने र महंगोमा बेचिएको कुरालाई रोक्न क्यानलाई निर्देशन दिइसकेको बताउनुभयो । अहिले क्रमिक रुपमा हवाई भाडादर पुरानै मूल्यमा आएको बताउनुभयो । सस्तो टिकट कतिको र महंगो टिकट कतिको बिक्यो भन्ने फेहरिस्त सार्वजनिक गर्न समेत क्यानलाई निर्देशन दिएको बताउनुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘उपभोक्ताहरुको अधिकार हनन नहुने गरी न्यायोचित र तर्कपूर्ण प्राइजमा मात्रै टिकटको भाडा लिनुस् भनेका छौँ । त्यसमा उहाँहरु सहमत हुनुहुन्छ ।…….त्यो विपरित उहाँहरु जानुभएको छ भने कडा कारबाही गर्ने प्रतिवद्धता जनाएका छौँ । टिकटको मूल्य बढेको कुरा केही दिन यता बिस्तारै कम हुँदै गएको छ । केही गुनासो भए सम्बोधन गर्न तत्पर छौँ ।’

मन्त्री पाण्डेले भैरहवामा उडानको चाप बढाउन र पोखरामा पनि उडान बिस्तार गर्न मन्त्रालयले योजनावद्ध रुपमा काम अघि बढाइरहेको बताउनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले भैरहवामा अहिले ५ वटा एयरलाइन्सहरुले उडान गरिरहेको र यसलाई १० वटासम्म कसरी पु¥याउने भन्ने योजनामा मन्त्रालय रहेको बताउनुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पोखरामा पनि उडानका गतिविधि बढाउने गरी आफू अघि बढिरहेको बताउनुभयो । आफूले निजी क्षेत्रहरुसँग पनि उडान बिस्तारका लागि आवश्यक छलफल अघि बढाएको बताउनुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘भैरहवामा ५ विमान आइसके १० कसरी पु¥याउने र त्यसलाई दिगो कसरी बनाउने ? ठिक त्यस्तै काम पोखरामा कसरी गर्ने ? मैले देखेको भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बन्नसक्छ भैरहवा । पोखरा पर्यटकीय दृष्टिकोणले आउने, नेचर, एड्भेन्चरका लागि आउनेलाई केन्द्र बनाएर उडान गर्नुपर्छ । त्रिभूवन विमानस्थलबाट हाइ प्रोफाइल मानिसहरु संघीय राजधानीमा आउनेहरुमा फोकस गरेर काम गरिरहेको छु ।’

मन्त्री पाण्डेले भैरहवाबाट बढी श्रमसँग सम्बन्धित र लुम्बिनीमा आउने दर्शनार्थीको आवतजावतको केन्द्र बनाउने र पोखरामा पर्यटकहरुसँग सम्बन्धित उडान गर्ने गरी योजना अघि बढाएको बताउनुभयो ।