काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका रुपन्देही लगिएकोमा मंगलबार बयान नसकिएपछि भैरहवामै राखिएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा लामिछाने समेत संलग्न रहेको भन्ने किटानी उजुरी परेकाले पोखराबाट लामिछानेलाई मंगलबार दिउँसो भैरहवा लगिएको थियो । आज दिनभर रुपन्देही जिल्ला न्याधिवक्ता प्रेमराज पौडेलको कार्यकक्षमा अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका थिए ।
साँझसम्म पनि बयान नसकिएपछि भोलि पुनः बयान लिनेगरी लामिछानेलाई रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ । उहाँलाई जिल्ला प्रहरी कार्यालयमा अलग्गै कोठामा राखिएको प्रहरीले जनाएको छ । बुधबार बिहान १० बजेदेखि पुनः बयान लिने क्रम शुरु हुने छ । बयान स्थगित गरी सरकारी वकिलको कार्यालबाट बाहिरिने क्रममा लामिछानेले आफ्ना समर्थकहरुलाई खोरमा थुन्दैमा बाघ स्याल नहुने प्रतिक्रिया दिनुभयो ।
बयानका लागि गोर्खा मिडिया, सहकारीको रकम हिनामिनालगायतका ७० वटा प्रश्न तयार गरी बयान लिइएको रुपन्देही प्रहरी स्रोतले जनाएको छ । मंगलबार दिउँसो पोखराबाट लामिछानेलाई भैरहवा लगिने भएपछि रुपन्देहीको सुरक्षा ब्यवस्था कडा बनाइएको थियो । भैरहवा विमानस्थलबाट कडा सुरक्षा घेराबीच लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालय पु¥याइएको थियो । सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको ठहर सहकारी ठगी छानविन समितिले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्