२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड


1.17k
Shares

काठमाडौं । नेपालको पश्चिम तराईका थारु समुदायमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले थारु समुदायको प्रमुख स्वास्थ्य समस्याको उपचारका लागि बेग्लै वार्ड स्थापना गरेर विशेष उपचार व्यवस्था गर्ने निर्णय गर्नुभएको हो ।

थारु समुदायमा ठूलो सङ्ख्यामा यो समस्या देखिए पनि यसको उपचारका लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । तसर्थ मन्त्री पौडेलले भेरी अस्पताल नेपालगञ्जमा हेमोग्लोविनोप्याथी वार्ड स्थापनाको निर्णय गर्दै भर्ना हुने बिरामीहरुका लागि समेत व्यवस्था गराउने निर्णय गर्नुभएको छ ।

गत महिना मन्त्री पौडेलले सिकलसेल उपचारका बारेमा थारु अधिकारकर्मीलगायतको टोलीसँग समुदायको यो समस्याका बारेमा छलफल गर्दै यसका लागि केही व्यवस्था गर्ने घोषणा गर्नुभएको थियो । त्यसै अनुरुप थारु समुदायलाई पायक पर्ने र अधिक बसोबास रहेको क्षेत्रलाई लक्षित गरेर भेरी अस्पतालमा वार्ड स्थापनाको निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सिकलसेल रोग थारु समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रुपमा रहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार समुदायका झण्डै १२ प्रतिशत नागरिक यस रोगबाट प्रभावित छन् ।

पश्चिम तराईको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका स्थानमा बसोवास गर्ने थारु समुदाय सिकल सेल रोगबाट बढी प्रभावित भएका हुन् ।

विपन्न बिरामीका हकमा शल्यक्रिया, औषधी तथा औषधीजन्य समाग्री, थप निदानात्मक सेवा शैया सेवा शुल्क आदिका लागि १ लाख रुपैयाँसम्म खर्चको व्यवस्था गरिने मन्त्राललयले जनाएको छ ।