एजेन्सी । लेबनानको सशष्त्र समुह हिजबुल्लाहले उत्तरी इजरायलमा गरेको दुई छुट्टाछुट्टै रकेट हमलामा सात जनाको मृत्यु भएको छ । इजरायलले लेबनानमा आक्रमण शुरु गरेयता हिजबुल्लाहबाट गरिएको यो अहिलेसम्मकै घातक हमला हो ।
लेबनानको सिमानामा रहेको मेतुला शहर नजिकै रकेट खस्दा एक इजरायली किसान र चार विदेशी कृषि कामदारको मृत्यु भएको इजरायलका विदेशमन्त्री इजरायल काट्जले बताउनुभयो । मारिने सबै कामदार थाइल्याण्डका नागरिक हुन् । तटीय शहर हाइफाको बाहिरी भागमा रहेको किबुट्ज क्षेत्रमा दोस्रो रकेट खस्दा एक इजरायली महिला र उनको वयस्क छोराको मृत्यु भएको बताइएको छ ।
हिजबुल्लाहले हाइफाको उत्तरमा क्रायोट क्षेत्रतर्फ कम्तिमा ५५ वटा रकेट प्रहार गरेको दाबी गरेको छ । इजरायल र लेबनानबिच शान्ति स्थापनाको प्रयासका लागि दुई अमेरिकी विशेष दूतहरूले जेरुसेलममा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई भेटेर युद्धविराम सम्झौताबारे छलफल गरेकै दिन हिजबुल्लाहको हमलामा सात इजरायली मारिएका छन् । यो घटनाले प्रस्तावित शान्ति सम्झौता ओझेलमा पर्ने अनुमान गरिएको छ ।
यसैबिच इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रमा आक्रमण जारी रखेको छ । ऐतिहासिक शहर बाल्बेकमा गरिएको हवाई हमलामा कम्तिमा १९ सर्वसाधारण मारिएका छन् ।
प्रतिक्रिया दिनुहोस्