विकास बखुन्छें/न्युज एजेन्सी नेपाल
काठमाडौं । तिहार शुरु हुन लागेसँगै यतिबेला भक्तपुरका प्रजापती समुदाय माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका पालादेखि कलशहरु बनाउन यतिबेला प्रजापती समुदायलाई भ्याइनभ्याइ छ ।
माटोका भाँडा अरु बेला पनि माग आउने गरे पनि तिहारको समयमा भने अन्य समयको तुलनामा बढी माग आउने प्रजापती समुदायको भनाइ छ ।
माटोका भाँडाको माग प्रत्येक वर्ष बढ्दै गइरहे पनि भाँडा बनाउने माटो प्राप्त गर्न भने कठिन हुँदै गएको उनीहरु बताउँछन् । शुरुमा जता गएपनि माटो खनेर ल्याउन पाइने तर अहिले प्लटिङका कारण माटो पाउन मुस्किल भएको उनीहरुको गुनासो छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भक्तपुरका गणेशकुमार प्रजापतीले आफूले सानैदेखि माटोको भाँडो बनाउने काम गरेको भन्दै माग राम्रो आउने गरेको बताउनुभयो । उहाँले पालाको मूल्य पहिला पनि दुई रुपैयाँ र अहिले पनि सोही मूल्यमा विक्री गरिरहेको बताउनुभयो । उहाँले विगतको दाँजोमा माग केही घटेको भएपनि माटोका भाँडाको माग अहिले पनि रहेको बताउनु भयो । उहाँले पहिला भक्तपुरकै विभिन्न ठाउँबाट माटो खनेर ल्याउन पाउने भएपनि अहिले साँखु लगायत काभ्रेपलाञ्चोकका विभिन्न ठाउँबाट किनेर ल्याउनुपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सानैदेखि यो काम गर्थें, बीचमा एक पटक छोडियो र अहिले फेरि गर्न थालेको हो । माग ठिक ठिकै आएको छ । पहिला पनि पालाको २ रुपैयाँ नै थियो । अहिले पनि दुई रुपैयाँ नै हो । पहिला पहिलाको दाँजोमा माग धेरै घटेको हो । तर अहिले पनि माटोको दियो प्रयोग गर्ने धेरै नै छन् । साँखुबाट धेरै माटो आउँछ । माटो पहिला खनेर लिन पाइन्थ्यो । १०, १५ फिट खनेर । अहिले माटो लिने ठाउँमा प्लटिङभएर घरैघर भइसक्यो अहिले किन्नुपर्छ ।’
उहाँले माटोका भाँडा बनाउनका लागि माटो पेल्न, मुस्न, सुक्न र पाक्न समय लाग्ने गरेको बताउनुभयो । माटो एक दिनमै सुक्ने भएपनि सबै काम सक्नका लागि १५ दिनको समय लाग्ने बताउनुभयो । पहिला काग तिहार आएपछि बेच्न जानुपर्ने भएपनि अहिले माटोका भाँडा लिन घरमै आउने गरेको बताउनुभयो । प्रजापतीका अनुसार सामानहरु बनाइराख्दा जहिले पनि बिक्री गर्न सहज नै हुन्छ ।
पहिला आफूले पैसाको कमी हुँदा लसुन, सागसँग माटोका भाँडा साट्ने गरेको सम्झनुहुन्छ हरिओम प्रजापती । उहाँ भन्नुहुन्छ, ‘यो पहिला गल्ली गल्ली छिरेका बेच्ने गर्दथ्यौँ । पैसा कम थियो त्यो बेलामा । लसुन, अन्न जोसँग जे थियो, त्योसँगै साट्थ्यौँ । घरमा बेच्न जाँदा बुढी आमै हुन्छ, पैसा हुँदैन, साग, लसुनसँग साट्थ्यौँ ।’
उहाँले बुढा भएका आमा, दिदिबिहिनीसँग पैसा नहुँदा साग, लसुनसँग भाँडा साटेको स्मरण गर्दै जोसँग जे अन्न वा अन्य कुराहरु हुन्थे त्यही लिएर भाँडा दिने गरेको बताउनुभयो । अहिले माटो पाउन कठिन रहेको उहाँको भनाइ छ । माटो लिन पाइने ठाउँमा अहिले प्लटिङ भएको र माटोका भाँडा बेचेर खासै फाइदा नरहेको गुनासो गर्नुहुन्छ । सरकारले माटोको व्यवस्था गर्नसके मात्रै आफूहरुको पेशा लोप नहुने उहाँको भनाइ छ ।
अर्का स्थानीय एवं माटोका भाँडा व्यापारी विनोदकुमार प्रजापती पुर्खादेखिको पेशा भएकाले चट्टै छोड्न नमिल्ने बताउनु हुन्छ । उहाँले पुख्र्यौली पेशा भएकाले माटोका भाँडा बनाउने काम गर्दै आएको बताउनुभयो । पुरानै मूल्यमा भाँडा बेच्नुपर्दा उहाँलाई लागत मूल्य नै नउठ्ने चिन्ता छ । तिहारमा विशेष गरी पाला मात्रै बिक्ने उहाँको भनाइ छ ।
विनोदकुमारले भन्नुभयो, ‘हाम्रो यो माटोको भाँडा बनाउने पुख्र्यौली पेशा हो । बाजे बराजुले बनाउनु हुन्थ्यो । हामी पनि बनाइरहेका छौँ । पुरानै रेटमा छ दियो । तिहारमा विशेष गरेर यो पाला मात्रै बिक्छ । अरु बेला सिजनअनुसारले सामानहरु बिक्छ । सदावाहर खुत्रुके, धुपाउरो, सामान बनाउन माटोको अभाव छ । दाउराको अभाव छ । इन्धनको समस्या छ । सहज रुपमा भए काम सुचारु हुन्छ ।’
अरु बेला सिजन अनुसारले सामानहरु विक्री हुने गरेको उहाँले बताउनुभयो । खुत्रुके, धुपाउरो जस्ता सामानहरु भने सदावाहर बिक्री हुने गरेको बताउनुभयो । माटो पकाउनका लागि इन्धन (दाउरा)को अभाव रहेको बताउनुभयो ।
माटोको भाँडा बनाउँदै आउनुभएका रोशन प्रजापतीको गुनासो पनि माटोको अभाव नै रहेको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले ३५ वर्षदेखि माटोका भाँडाहरु बनाउँदै आउनुभएको छ । पहिला वर्षहरु भन्दा यस वर्ष माटोका भाँडाहरुको माग घटेको उहाँको भनाइ छ । अहिलेको आर्थिक अवस्थाले गर्दा पनि माग घटेको हुनसक्ने उहाँको अनुमान छ ।
रोशनले भन्नुभयो, ‘३५ वर्ष जति भयो मैले गर्दै आएको । पहिलो वर्ष भन्दा यस वर्ष माग धेरै घटिरहेको छ । अहिले आर्थिक अवस्था पनि कमजोर छ । त्यसैले हो कि । हाम्रो आफ्नै परिवारले गर्ने काम भएकाले ठिकै गुजारा चलिरहेको छ ।’
प्रजापती परिवारले नै गर्ने काम भएकाले कामलाई निरन्तरता दिएको र गुजारा चलिरहेको रोशनको भनाइ छ ।
माटोका भाँडा बनाउने प्रजापती समुदायलाई अहिले सरकारले माटोको व्यवस्थापन गरिदिए हुन्थ्यो भन्ने लाग्छ । माटो पाउन मुस्किल हुँदै गएपछि आफ्नो पुस्तौंदेखिको पेशा लोप हुने चिन्ता प्रजापती समुदायलाई छ ।
प्रतिक्रिया दिनुहोस्