१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


इलाम- श्रीअन्तुमा पर्यटनमा लगानी बढ्दै


182
Shares

इलाम । इलामको श्रीअन्तुमा पर्यटन व्यवसायमा लगानी बढेको छ । आन्तरिकसँगै बाह्य पर्यटकहरुको गन्तव्य बनेको अन्तुमा अहिले पर्यटकको सेवाका लागि होटल र कटेज स्थापनामा बाह्य लगानी बढ्दै गइरहेको छ ।

हरियो चियाबारीले घेरिएको अन्तु पोखरी वरिपरि अहिले होटल र कटेजले भरिएका छन् । पर्यटनको विकास भएको श्रीअन्तु क्षेत्रको अन्तु पोखरी वरिपरिका होटल र कटेजमा दैनिक सयौँ पर्यटकहरुको बास हुन्छ । श्रीअन्तु क्षेत्रको भञ्ज्याङ क्षेत्रमा पनि अहिले होमस्टेसँगै होटलहरुको खुल्ने क्रम बढेको छ ।

यस क्षेत्रमा पर्यटकहरुको चाप बढेपछि अन्तुबासीसँग जग्गा भाडा लिएर र खरिद गरेर होटल कटेजमा लगानी गर्ने व्यवसायीको संख्या बढेको हो । यहाँ पर्यटन प्रवद्र्धनका लागि समुदायले घरबास कार्यक्रम सुरुवाती दिनमा संचालन गरेका थिए । तर अहिले पर्यटकको चाप बढेपछि होटल र कटेजमा बाह्य लगानी भित्रिएको श्रीअन्तुका पर्यटन व्यवसायी रुद्र घिमिरे बताउनुहुन्छ ।

श्रीअन्तु पर्यटन व्यवसायी संघमा अहिले ७२ वटा होटल र कटेजहरु दर्ता भएका छन् । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै ठाउँ नियाल्न सकिने अन्तु क्षेत्र प्राचिन शासक लेप्चा जातिको इतिहासको अध्ययनको थलो हो । कृषिबाट सुधारिएको जीवनशैली, व्यावासायीक फूलखेती, थुम्काथुम्काको चियाबारी पर्यटकका आकर्षणस्थल हुन् ।

अन्तु पोखरीको सुधार गर्दै स्थानीयवासीले पोखरीमा डुङ्गा चलाएपछि पर्यटक थप आकर्षित भएका हुन् । अन्तुमा नेपाल, भारत र भुटान देशका पर्यटकहरु पुग्ने गरेका छन् । यस्तै, पर्यटन प्रवद्र्धनका लागि भ्यूटावर निर्माण भएको छ । अन्तु टावरबाट सूर्योदय हेर्न दैनिक सयौँको संख्यामा पर्यटक पुग्ने गरेको पर्यटन व्यवसायी राधिका रानाले बताउनुभयो ।

मेची राजमार्गको फिक्कलबाट करीब १३ किलोमिटर पूर्वको रमणीय स्थल अन्तु पुग्न पक्की सडक छ । यसैग्रि यहाँको घरबास कार्यक्रम पनि लोकप्रिय बन्दै गएको छ ।

विशेष गरि अन्तुमा पर्यटक पुग्ने मुख्य सिजन असोज, कात्तिक, मंसिर, फागुन र चैत्र महिना हो ।