काठमाडौं । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरु यतिबेला दीपावली तथा छठ पर्वको तयारीमा लागेका छन् ।
यि दुवै पर्वमा माटाका भाँडाकुँडाको माग अत्याधिक हुने गर्दछ । यो माग पूर्ति गर्नकै लागि जनकपुरका कुम्हाल समुदाय यतिबेला माटोका भाँडाकुँडा बनाउन व्यस्त छन् । तर पछिल्लो समय यो पेशाबाट मनग्य आम्दानी नहुँदा युवाहरु पेसाबाटै पलायन हुँदै गइरहेको गुनासो उनीहरुको छ ।
उमेरले ७० वर्ष पुग्नुभएका उपेन्द्र पण्डित माटाका सामानहरु बनाउन यतिबेला व्यस्त हुनुहुन्छ । अनुभव र सीपले युवाहरु भन्दा पनि छिटो माटोका भाँडा बनाउनुहुन्छ । उहाँलाई अहिले आउँदै गरेको लक्ष्मीपूजा र आस्थाको पर्व छठका लागि माटोको दियो, हाथी, ढकना, सर्वा लगायतका सामाग्रीहरु बनाउने चटारो छ ।
यी पर्वहरुको समयमा माटाका सामानहरुको माग बढेपछि उहँ बिहानैदेखि माटाका सामानहरु बनाउन व्यस्त हुनुहुन्छ । जनकपुरधाम वडा नम्बर २४ बसहियाका स्थानीय पण्डितले माटोबाट निर्माण हुने विभिन्न कलात्मक सामाग्रीहरु बनाउन थालेको लगभग ४० वर्ष भइसकेको छ । उपेन्द्र घरपरिवार चलाउन पुख्र्यौली पेशाका साथै अन्य कामहरु पनि गर्नुहुन्छ ।
माटोको सामाग्री कुनै विशेष पर्व वा सिजनमा मात्रै विक्री हुने गर्दछ । त्यसमध्ये दीपावली र छठ पनि हो । यही पेशाको भर पर्ने हो भने घर चलाउन हम्मेहम्मे पर्छ । त्यसैले घरपरिवार धान्न पुख्र्यौलीका साथै अन्य पेशा समेत अपनाउने गरेको कुम्हाल समुदाय बताउँछन् । उपेन्द्र जस्तै दैनिकी परीक्षण पण्डितको पनि छ । उहाँले माटाको भाँडाकुडाको व्यवसाय शुरु गरेको लगभग ३० वर्ष भइसकेको छ । उहाँले पहिलेभन्दा माटाको भाँडाकुँडाको व्यापार बढेको बताउनुभयो । मागअनुसार त्यसको आपूर्ति गर्न नसकेको उहाँको भनाई छ ।
महँगी बढिरहेको छ । तर आजभन्दा ५ वर्ष पहिले ५० रुपैँया पाउने कलशको मूल्य अहिले पनि त्यस्तै छ । २ रुपैँयामै पछिल्लो ५ वर्षदेखि माटोको दियो बेच्न परिरहेको कुम्हाल समुदायको गुनासो छ । विष्णु पण्डित भने यी समस्याहरुलाई पन्छाउँदै आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिने सोचमा हुनुहुन्छ ।
माटो किन्नेदेखि लिएर दाउरासम्मको मूल्य तिरेर एक महिनासम्म मेहनत गरेपनि मनग्य आम्दानी हुन नसक्दा कुम्हाल पेशामा लाग्न युवाहरु रुचाउँदैनन् । यसले कुम्हाल पेशा नै संकटमा पर्ने उनीहरु गुनासो गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्