काठमाडौं । पोखराका सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दवाव स्वरूप आज पोखरामा प्रदर्शन गर्दैछन् ।
सहकारी पीडित संघर्ष समितिले आज बिहान ११ बजेबाट राष्ट्रबैंक चोकमा प्रदर्शन गर्दैछ । प्रदर्शनमा सम्पुर्ण सहकारी पिडितहरुलाई सहभागी हुन आव्हान गरिएको छ ।
रास्वपाका नेता कार्यकर्ताहरूले आफ्नो प्रदर्शनलाई स्वतन्त्र नागरिकहरूको प्रदर्शन भनेपछि सहकारी पीडितहरूलाई पनि अन्य पक्षले साथ दिएका छन् ।
यता रास्वपाले आफ्ना सभापति रवि लामिछानेको बचाउमा आज पनि देशभर प्रदर्शन गर्ने तयारी गरेका छन् ।
अदालतमा रविलाई पेश गर्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गरेको छ । सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा उतारेको हो ।
सहकारी पीडित र रास्वपाका कार्यकर्ता दुवै पक्षले प्रदर्शन गर्ने भएपछि झडपको स्थितिलाई मध्यनजर गर्दै पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई आज अदालतमा पेश गरिँदैछ । सहकारीमा बचत गरेका सर्वसाधरणको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन निर्देशक लामिछानेलाई कास्की प्रहरीले म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेश गर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्