४ असार २०८२, बुधबार | Wed Jun 18 2025


काभा यू–२० भलिबलमा नेपाल र किर्गिस्तान भिड्ने


0
Shares

काठमाडौं । २० वर्षमुनिको काभा पुरुष भलिबलमा आज नेपाल र किर्गिस्तान भिड्दैछन् । श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो ।

यसअघि तीनमध्ये दुई खेलमा जित र एकमा हार भोगेको नेपाल आज पनि जित निकाल्ने लक्ष्यमा हुनेछ । प्रतियोगिताको पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको नेपालले दोस्रो खेलमा भने उज्वेकिस्तानसँग ३–१ को हार बेहोरेको थियो ।

तेस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको नेपालले आजको खेल जित्दै फाइनल प्रवेशको संभावना बलियो बनाउने लक्ष्य राखेको छ ।

६ टोली सहभागी प्रतियोगिताको अन्तिम खेलमा नेपालले भोलि तुर्कमिनिस्तानसँग खेल्नेछ । लिग चरणका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।