काठमाडौं । एभरेष्ट महिला भलिबल लिगमा लगातार चौथो जितसहित कर्णाली यश्विज फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा चितवन शक्तिलाई ३–२ को सेटमा हराउँदै कर्णाली फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा कर्णालीले चितवनलाई २१–२५, २५–१८, २१–२५, २५–१५ र १५–१३ ले हरायो । जितसँगै कर्णाली लिगको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । अपराजित रहँदै फाइनलमा पुगेको कर्णालीले १० अंक बनाएको छ ।
कर्णालीले यसअघि मधेश युनाइटेड, गण्डकी थन्डर्स र ललितपुर क्विन्सलाई हराएको थियो । पराजित टोली चितवनको भने फाइनल प्रवेशको बाटो कठिन बनेको छ ।
लिगको आफ्नो अन्तिम खेलमा चितवनले ललितपुर क्विन्सको सामना गर्नेछ भने कर्णालीले काठमाडौंको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्