५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


नेपाललाई थप चार हवाईमार्गः यस्तो छ भारतको शर्त (भिडियो)


0
Shares

लक्ष्मी लामा/उत्तम मानन्धर (इमेज)

काठमाडौं, असार ६ । नेपाललाई थप चारओटा हवाईमार्ग दिन भारत सहमत भएको बताइएपनि पश्चिमतर्फका रुटहरुमा भने भारतले अहिले पनि शर्तहरु अघि सारेको खुलासा भएको छ ।

नेपाली र भारतीय उड्डयन अधिकारीहरुबीच यसै साता काठमाडौंमा भएको छलफलमा पूर्वको जनकपुर र विराटनगर तथा पश्चिममा नेपालगन्ज र धनगढी रुट हुँदै थप हवाईमार्ग दिन भारतीय पक्ष सहमत भएको बताइएको थियो ।

तर, भारतीय पक्षले विराटनगर र जनकपुर रुटमामात्रै सहमति जनाएको छ । यद्यपि, यी रुटहरुबाट उडान भर्दा हुनसक्ने सुरक्षा चुनौतीहरुबारे मूल्यांकन गरेर आगामी साउनभित्र प्रतिवेदन बुझाउने भनिएको छ ।

भारतीय पक्षले यी रुट हुँदै नेपाल प्रवेश गर्ने विमानहरु १५ हजार फिटदेखि २४ हजार फिटको उचाइबाट उड्नुपर्ने शर्त पनि राखेको छ ।

अहिलेसम्म काठमाडौंबाट जनकपुर हुँदै कोलकातातर्फ जानेमात्रै अनुमति पाउने विमानहरु सोही रुटबाट नेपाल प्रवेश पनि गर्न पाउने भएका छन् ।

पश्चिमको नेपालगन्ज र महेन्द्रनगर रुटबाट नेपाललाई हवाईमार्ग दिन भारतीय पक्षले सुरक्षा चुनौतीको अध्ययन गर्नुपर्ने बताएको छ ।

महेन्द्रनगर विन्दुबाट साना जहाज तथा ‘क्रसबोर्डर फ्लाई’मात्रै गर्न दिने भारतीय पक्षको अडान रहेको छ भने ठूला विमानहरुले २५ हजार फिटदेखि ३३ हजार फिटमाथिबाट उडान भर्नुपर्ने भारतीय शर्त रहेको बुझिएको छ ।

आगामी साउनमा प्रतिवेदन बुझाएपछि त्यसको अध्ययन गरेर भारतीय पक्षले लिने निर्णयको आधारमा काम अघि बढाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठले बताए ।

विराटनगर र जनकपुरको रुटको सम्बन्धमा भने सम्भाव्यता अध्ययन गरेर ‘लेटर अफ एग्रिमेन्ट’ हुने र त्यसपछि ‘इन्टरनेसनल सिभिल राइट्स’सँग स्वीकृति लिइने पनि उनले बताए ।

अहिलेसम्म पूर्व, पश्चिम र दक्षिण भएर आउने विमानहरुको एउटैमात्र प्रवेशविन्दु बाराको सिमरामात्र रहेको छ, जसले गर्दा धेरै एअर ट्राफिकजामको समस्या हुने गरेको छ ।

जसका कारण एअरलाइन्सहरुको लागत पनि बढीपर्ने गरेको छ भने सुरक्षाको दृष्टिकोणले पनि चुनौतीपूर्ण रहेको छ ।

नयाँ रुटहरु कार्यान्वयनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अरु निर्माणाधीन विमानस्थलहरुमा अवतरण र उडान पनि सहज हुनेछ ।

भिडियो हेर्नुहोस्