काठमाडौं । सरकारले बाढी–पहिरो–डुबानमा परेर मृत्यु भएकाको सम्झनामा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
आजबाट देशभरका सरकारी कार्यालय र नियोगहरूमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइनेछ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बाढी, पहिरो तथा डुबानमा परेर ज्यान गुमाएका व्यक्तिको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने पनि मन्त्रिपरिषद् बैठकले निर्णण गरेको छ । त्यस्तै बेपत्ता रही १० दिनसम्म फेला नपरेकाका परिवारलाई पनि मृतक सरहकै राहत प्रदान गर्ने निर्णय समेत सरकारले गरेको छ ।
बैठकमा गृहमन्त्री रमेश लेखकले समग्र स्थितिबारे मन्त्रिपरिषद्मा जानकारी गराउँदै उहाँले बाढी पहिरोमा परी सोमबार साँझसम्म २ सय ९ जनाको मृत्यु भएको, २९ जना बेपत्ता भएको र २ सय ४८ जना घाइते भएको विवरण पेश गर्नुभएको थियो ।
त्यस्तै ७७२२ जनाको उद्धार गरिएको जानकारी गृहमन्त्री लेखकले गराउनुभएको थियो । राजमार्गहरू सुचारु गर्न चार स्थानमा तत्कालै बेलिब्रिज आवश्यक रहेको समेत प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । सोही क्रममा प्रधानमन्त्री ओलीले सबै राजमार्गलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सबै कदम उठाउन र आवश्यक पर्ने कामको प्रतिवेदन ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीले आवश्यक राहत, उद्धार र क्षति सम्बन्धी सबै विवरण संकलन गर्न गृह, स्वास्थ्य, पूर्वाधार, खानेपानी, ऊर्जा मन्त्रीलाई निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्