Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


मैले प्रधानन्यायाधीशविरुद्ध व्यक्तिगत लाञ्छना लगाएको छैन : अध्यक्ष घिमिरे


1k
Shares

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध लाञ्छना लगाउने खालको अभिव्यक्ति नदिएको दाबी गर्नुभएको छ ।

सर्वोच्च अदालत प्रशासनले वरिष्ठ अधिवक्ता समेत रहनुभएका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको तयारी गरिरहेका बेला उहाँले पत्रकार सम्मेलन गरी सो कुरा बताउनुभएको हो ।

सोमबार अपरान्ह पत्रकारहरुमाझ अध्यक्ष घिमिरेले न्यायपरिषद विरुद्ध आफूले बोलेको र त्यो बोल्न पाइँदैन भन्नेकुरा कुनैपनि ऐनमा नरहेको जिकिर समेत गर्नुभयो । उहाँले आफूमाथि अदालतको अवहेलनाको मुद्दा लगाएपनि किञ्चित विचलित नभई लड्ने चेतावनी समेत गर्नुभयो ।

असोज ११ गते शुक्रबार न्यायपरिषद्ले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने सिफारिस गरेलगत्तै अध्यक्ष घिमिरेले प्रधानन्यायाधीश श्रेष्ठले आर्थिक लेनदेनको आधारमा सर्वोच्च अदालतका दुई जना न्यायाधीश नियुक्ति गरेको आरोपसहितको अभिव्यक्ति दिनुभएको थियो ।

सर्वोच्च अदालत प्रशासनले घिमिरेको सोही अभिव्यक्ति अदालतको अवहेलना हुनेगरी आएको ठहर गर्दै उहाँविरुद्ध मुद्दा लगाउने तयारी गरेको छ । अध्यक्ष घिमिरेले भने आफूले व्यक्तिगत रुपमा लाञ्छना लगाउने खालको अभिव्यक्ति नदिएको जिकिर गर्नुभएको छ । उहाँले न्याय परिषद्लाई पारदर्शी बनाउन त्यसको विरुद्ध लड्नुपरेको पनि बताउनुभयो ।

अध्यक्ष घिमिरेलेले आफूहरुले न्यायालयको सम्मानका लागि लडाई लडेको र त्यसलाई अझै तिब्र गतिमा अघि बढाउने समेत बताउनुभयो ।