२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


मंहगीका कारण बजारमा चहलपहल कम


0
Shares

काठमाडौं । नेपालीहरुको महान पर्व दशैं नजिकिए पनि बजारमा कुनै रौनक देखिएको छैन । राजधानी काठमाडौंमै चाडपर्व आउँदा हुने किनमेलको चहलपहल देख्न पाईदैन । मीठो खाने र राम्रो लगाउने चाडपर्व संघारमा आउँदा पनि व्यापार नबढ्दा ब्यापारीहरु निराश बनेका छन् ।

नेपालमा वर्षभरिमा हुने कुल आर्थिक कारोबारको एक तिहाई हिस्सा दशैं र तिहारमा हुने गरेको पाइन्छ । तर यस वर्ष दशैं घरदैलोमा आउँदै गर्दा बजारमा चहलपहल बढ्न सकेको छैन । प्रमुख चाडवाडको मुखमा पनि व्यापार व्यवसायमा उत्साह नदेखिदा व्यावसायीहरु निराश बन्दै गएका छन् । चाडपर्व लक्षित अर्बौका सामान विदेशबाट आयात हुन्छन् । तर, यस वर्ष पनि लत्ता कपडा तथा अन्य सामग्रीको माग बढ्न नसकेको व्यापारीहरु बताउँछन् । बजारमा किनमेल गर्नेहरुको भीड कतै पनि देख्न पाईदैन । घटस्थापनापछि केहि व्यापार बढ्ला कि भन्ने आसामा व्यावसायीहरु रहेका छन् ।

आर्थिक मन्दी र बढ्दो मंहगीका कारण सर्वसाधारणको क्रम शक्ति निकै घटेको छ । उपभोक्ताहरुले अत्यावश्कय नभई सामान खरिद नै नगर्ने अवस्था रहेको व्यवसायीहरु बताउछन् । आर्थिक मन्दी र रोजगारीको बाताबरण नहुनु र धेरै मानिसको सहकारीमा फसेकाले पनि मानिसहरुको क्रय शक्ति घटेको हो । देशबाट हरेक दिन युवा जनशक्ति विदेश पलायन भईरहेकाले पनि बजारमा माग नै सिर्जना हुन नसकेको व्यापारीहरुको भनाइ छ ।

त्यसो त बजारमा चहल पहल घटेको यो वर्ष मात्रै होइन । कोरोना महामारी पछि बजारमा निरन्तर माग घट्दो छ । सरकार र सरकारी अड्डाहरुले आर्थिक अवस्था लयमा फर्केको दाबी पटक पटक गर्दै आएका छन् । तर दशैं तिहार जस्ता चाडवाडमा समेत बजार देखिएको सुनसान अवस्थाले बजारमा माग बढ्नै नसकेको प्रष्ट पार्दछ ।