काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि समुद्रसम्मको रक्षाका लागि एकीकृत अनुकूलन कार्ययोजना ल्याउन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत भइरहेको उच्चस्तरीय प्लेनरी बैठकमा ‘समुद्री सतह वृद्धिका कारण उत्पन्न चुनौती’ विषयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी कार्बन उत्सर्जनले गर्दा नेपालमा हिमालहरू पग्लिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले समुद्री सतह वृद्धिबारे उल्लेख गर्दै एसियाका दुई तिहाइ हिमालहरू पग्लिँदा कम्तीमा १० वटा नदी प्रणाली सुख्खा हुन पुगेकाले हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना अपरिहार्य भएको बताउनुभयो । हिमालयहरू प्राकृतिक ‘रिचार्ज सिस्टम’ भएकाले यिनलाई पग्लिन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी रुपमै प्रयास हुनुपर्नेमा उहाँको जोड थियो ।
प्रधानमन्त्री ओलीले हानिकारक कण र प्रदूषण प्रवाह नियन्त्रण गर्न हातेमालो गर्दै जलवायु न्यायको नीति कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो । उहाँले उत्सर्जनकर्ता मुलुकले प्रभावित मुलुकलाई उचित क्षतिपूर्ति दिनुपर्ने कुरामा हामी सबैको साझा मत हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आगामी वर्ष यस सवालमा उल्लेखित चुनौती सामना गर्ने विषयमा हिमाली र टापुजन्य मुलुकको बेग्लै बैठक राख्न म राष्ट्रसङ्घलाई आग्रह गर्दछु ।’
यसैगरि प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको जलवायु परिवर्तनबाट असुरक्षित फोरमको बैठकलाई पनि सम्बोधन गर्नुभएको छ । उक्त बैठकमा जलवायु न्यायको आवाज उठाउँदै उहाँले विकसित मुलुकले पेरिस सम्झौताबमोजिम जलवायु वित्त कोषमा अतिरिक्त बजेट विनियोजन गर्नुपर्ने माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्