१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


रास्वपाको चेतावनी – उपसभामुख रानालाई पदबाट हटाए सरकारलाई टिक्न दिँदैनौँ


1.924k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाए सडक संघर्ष गर्ने चेतावनी दिएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाउने कुरा समाचारहरुमा आएको उल्लेख गर्दै त्यसो गरिए सरकार र सत्तारुढ दल विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिनुभएको हो ।

प्रमुख सचेतक परियारले उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र भएको जिकिर गर्दै सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभयो ।

प्रमुख सचेतक परियारले सत्तारुढ दलहरुले संख्याको बलमा जे पनि गर्न खोज्छ भने आफूहरुले त्यस्ता सत्ता र शक्तिलाई ढालिदिने समेत बताउनुभयो । आफ्नो पार्टीसँग द्वेष साँधेर सत्तारुढ दलहरुले उपसभामुख रानालाई पदबाट हटाउने हो भने त्यो मान्य नहुने उहाँको भनाई थियो ।

प्रमुख सचेतक परियारले उपसभामुख रानालाई पदबाट हटाउन खोजिए सरकार विरुद आम जनता सडकमा ओर्लने दाबी समेत गर्नुभयो । उहाँले लोकतन्त्रमा सत्ता र शक्तिको आडमा जे पनि गर्न सकिन्छ भन्ने भ्रमण सरकारले पाल्न नहुने बताउनुभयो ।