काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताउनुभएको छ ।
भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताउनुभयो ।
मन्त्री पाण्डेले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताउनुभयो । उहाँले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको शुरुवात कहाँबाट गर्नुपर्छ भन्नेकुरा बुझिसकेको बताउनुभयो ।
मन्त्री पाण्डेले सत्य र निष्ठाबाट विचलित नभइ नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने बताउनुभयो । भाषाहरुको संरक्षण, संवद्र्धन र विकासबाट नेपालको बहुसांस्कृतिक पक्षलाई बलियो र समृद्ध बन्ने बताउनुभयो । उहाँले संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा जानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
मन्त्री पाण्डेले भन्नुभयो, ‘हामीले नागरिक उड्डयन क्षेत्रलाई सुधार्नुपर्ने छ । नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको सरकारी एयरलाइन्सले नै रहेछ । नेपाल एयरलाइन्सले नै रहेछ । नेपाल एयरलाइन्स जबसम्म सशक्त हुँदैन, जबसम्म प्रभावकारी हुँदैन, जबसम्म विश्वसनीय हुँदैन तबसम्म अरु सुधार्न सक्दैन । अहिले एनएसी भन्छौँ ।’
भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषाको मुल जरो उत्पादन भएको बताउनुभयो । उहाँले संस्कृति पनि भाषामै अड्किएको बताउनुभयो । भाषा नरहे संस्कृति नरहने बताउनुभयो । उहाँले भाषा बिना संस्कृतिको मौलिकता हराउने पनि बताउनुभयो ।
अध्यक्ष ठाकुरले भन्नुभयो, ‘भाषाको मुल जरो हो उत्पादन पद्धति । संस्कृति पनि त्यसैमा अडिएको हुन्छ । त्यही संस्कृतिको एउटा भाग भाषा पनि हो । हामी हाम्रो उत्पादन पद्धति यदी समाप्त पार्छौं भने हाम्रो संस्कृति पनि रहँदैन । हाम्रो संस्कृतिको मौलिकता पनि हराउँछ । हाम्रो भाषा पनि हराउँछ ।’
अध्यक्ष ठाकुरले भाषा सर्वेक्षण गहिराइमा पुगेर गर्नुपर्ने बताउनुभयो । भाषा आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्