काठमाडौं । २०७२ सालको भूकम्पबाट ढालेको धरहराको पुनर्निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । तीन वर्षअघि नै २०७८ सालको बैशाख ११ गते नै प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको धरहराको बल्ल पूर्ण रुपमा निर्माण सम्पन्न हुने अवस्थामा पुगेको हो ।
आगामी असोज ३ गतेदेखि सर्वसाधारणले धरहरा चढेर काठमाडौंको दृष्यावलोकन गर्न पाउने भएका छन् ।
शहरी विकास मन्त्रालयले असोज ३ देखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्न लागेको हो । ऐतिहासिक सम्पदा भए पनि पछिल्लो पटक पुनर्निर्माण गर्दा धरहरालाई बहुउपयोगी आधुनिक भवनको रूप दिइएको छ । धरहराको तीन तलासम्म सवारी पार्किङस्थल छ । जसमध्ये पहिलो एक तला सर्वसाधारणका लागि पार्किङ गर्न खुला गरिएको छ । पुरानो धरहराले ओगटेको क्षेत्र विस्तार गरी गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको क्षेत्रलाई पनि एकीकृत रूपमा विकास गरिएको छ ।
शहरी विकास मन्त्रालयको निर्णयसँगै धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनले बाँकी काम सक्न तीव्रता दिएको छ । निर्माण कम्पनीका प्रोजेक्ट कर्मचारी श्यामचन्द्र श्रेष्ठका अनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोही अनुसार काम भइरहेको छ । धरहरा र आसपासको क्षेत्रमा बत्ती जडानको कामबाहेक अरु काम लगभग सकिएको निर्माण कम्पनीको दाबी छ ।
अघिल्लो पटक निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेर सरकारबाट बाहिरिएका ओलीले अहिले फेरि प्रधानमन्त्री बनेपछि धरहरा सञ्चालनका लागि ताकेता गर्दै आएकाले पनि निर्माण कम्पनीले कामलाई तीब्र गतिमा अघि बढाएको हो ।
प्रधानमन्त्री ओलीले गत साउन १४ मा मन्त्री तथा सचिवहरूलाई धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको थियो । त्यसो त निर्माण कम्पनीको थपिएको अवधि पनि आगामी असोज २० गतेमा सकिंदैछ । जे होस भत्किएको झण्डै दश वर्षपछि भएपनि धरहरा पुनः सर्वसाधारणका लागि खुल्ने निश्चित भएको छ ।
प्रतिक्रिया दिनुहोस्