काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले राम्रो कानून बनोस् भन्नेकुरामा यथेष्ट ध्यान दिएको बताउनुभएको छ ।
बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
कानूनमन्त्री चौरसियाले सो विधेयकले पनि कानून निर्माणका लागि संसदलाई अझ बढी अधिकार दिने व्यवस्था राखेको उल्लेख गर्नुभयो । पार्लियामेण्टलाई पनि अझ सशक्त ढंगले कानून बनाउन अधिकार दिने व्यवस्था सो विधेयकले गरेकाले कानून निर्माणको प्रक्रिया अझ बढी प्रभावकारी हुने उहाँको विश्वास थियो ।
कानूनमन्त्री चौरसियाले कानून निर्माणको कामलाई अझ पारदर्शी, व्यवस्थित र गुणस्तरीय बनाउने कुरामा सरकारले अन्तराष्ट्रिय प्रचलनलाई ध्यान दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कानून निर्माणको प्रक्रियालाई व्यवहारिक रुपमा नै अझ बलियो बनाउनका लागि विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारले संसदमा ल्याएको दाबी समेत गर्नुभयो ।
कानूनमन्त्री चौरसियाले सरोकारवालाहरुको सुझावलाई कानून निर्माण प्रक्रियामा विशेष ध्यान सरकारले दिने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्