काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तकालय ऐन आवश्यक भइसकेको बताउनुभएको छ । शनिवार काठमाडौंमा सत्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
शिक्षामन्त्री भट्टराईले पुस्तकालयलाई व्यवस्थित गर्न, राज्य र पुस्तकालय बीचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक भएको बताउनुभयो ।
उहाँले सरकारले अहिले पुस्तक नीति प्रारम्भिक मस्यौदा तयार पारिसकेको र त्यसलाई व्यवस्थित बनाउन अझै केही छलफल आवश्यक रहेको बताउनुभयो । उहाँले पुस्तकालय सम्बन्धी नीति, केही ऐन कानून र केही व्यवहारिक कुराहरु गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।
शिक्षामन्त्री भट्टराईले नयाँ किसिमको पुस्तकालयको अवधारणामा सरकारले काम गरिरहेको पनि बताउनु भयो । उहाँले इ. लाइबेरीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षामन्त्री भट्टराईले भन्नुभयो, ‘अब हामीलाई पुस्तकालय ऐन नै आवश्यक छ । किनभने त्यसलाई व्यवस्थित गर्नका लागि र राज्य र पुस्तकालय बीचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक छ । किनभने हामी संघीय शासन व्यवस्थामा छौँ । तीन तहको राज्य संरचनाको समन्वय र सहकार्यलाई पनि अघि बढाउनु पर्छ । पुस्तकालय भन्नेकुरा पुस्तकमा मात्रै सिमित छैन । हामीसँग हरेकसँग स्मार्ट फोन छ । इ.लाइबेरीको विकास गर्नुपर्छ ।’
मन्त्री भट्टराईले पुस्तकालयमा लगाइएको लगानीको व्यवस्थित सदुपयोग गर्नका लागि पनि नीति नियमको आवश्यकता रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्