१८ मंसिर २०८१, मंगलबार | Tue Dec 3 2024


पेरिस पारा ओलम्पिक शुरु


403
Shares

काठमाडौं । पेरिस पारा ओलम्पिक शुरु भएको छ । फ्रान्सको राजधानी पेरिसमा गएराति एक भव्य समारोहकाबिच पेरिस पारा ओलम्पिकको औपचारिक शुरुवात गरिएको हो । प्रतियोगिताका खेलहरु आजबाट शुरु भएका छन् ।

तीन हप्ताअघि गृष्मकालीन ओलम्पिक आयोजना भएकै रंगशाला, मैदान तथा कभर्ड हलहरुमा पारा ओलम्पिकका खेल हुँदैछन् । यसपटक नेपालबाट तीन खेलाडीले पारा ओलम्पिकमा सहभागिता जनाउँदैछन् ।

तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र भरत सिंह महता तथा पौडी खेलाडी भीमबहादुर कुमालले पारा ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् ।

पारा तेक्वान्दो खेलाडी भरतले पहिलो खेलमा आज जापानका खेलाडीको सामना गर्दा पलेसाले भोलि भेनेजुएलाकी खेलाडीसँग खेल्ने छिन् ।

फरक क्षमता भएका खेलाडीहरुका लागि आयोजना गरिएको पारा ओलम्पिकको यो सत्रौं संस्करण हो । सेप्टेम्बर ७ सम्म चल्ने यसपटकको पारा ओलम्पिकमा २२ खेल समावेश गरिएको छ । ती २२ खेलमा विश्वका १ सय ६८ देशका ४ हजार ४ सय खेलाडीले ५ सय ४९ स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्नेछन् ।