काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन हुने घोषणा गर्नुभएको छ । आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
उद्योगमन्त्री भण्डारीले उपभोक्ता अदालतले गरेका फैसलाले अहिलेको मिसावट, कृत्रिम अभाव, मूल्य समायोजनका विषयमा धेरै ठूलो प्रभाव पार्ने बताउनुभयो । उहाँले अनुगमनलाई प्रभावकारी बनाउने गरी उपभोक्ता अदालत गठन हुने बताउनुभयो । उहाँले सरकारले अत्यावश्यक वस्तु अभाव हुन नदिने पनि प्रतिवद्धता जनाउनु भयो ।
उद्योगमन्त्री भण्डारीले अत्यावश्यक वस्तुको अभाव हुन नदिने सबै खालका विधि अपनाउन सरकार तयार रहेको बताउनुभयो । उहाँले बजार अनुगमनका लागि सिमित जनशक्ति रहेको उल्लेख गर्दै बजार अनुगमन गर्नुप¥यो भने अन्तरमन्त्रालयको सहयोग लिनुपर्ने अवस्था रहेको बताउनुभयो । दुई दिनभित्र भारतको मन्त्रीपरिषदमा नेपालको विशेष चामलको कोटामा लाग्ने २० प्रतिशतको ड्युटीलाई घटाउने प्रस्ताव लैजाने पनि बताउनुभयो ।
उद्योगमन्त्री भण्डारीले भन्नुभयो, ‘तपाईंहरु गणना गर्नुस्, आजको एक महिनाभित्र उपभोक्ता अदालत गठन हुनेछ । हामी त्यो उपभोक्ता अदालतले गरेका फैसलाले हाम्रो अहिलेको मिसावट, कृत्रिम अभाव, मूल्य समायोजनका विषयमा धेरै ठूलो प्रभाव पर्छ । अनुगमनलाई प्रभावकारी बनाउने गरी उपभोक्ता अदालत गठन हुनेछ ।’
उद्योगमन्त्री भण्डारीले आपूर्ति श्रृंखलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले राजस्व संकलन हुन नसकिरहेको भन्दै अब राज्यले टुलुटुलु हेरेर नबस्ने बताउनुभयो ।
उद्योगमन्त्री भण्डारीले नेपालको आन्तरिक उत्पादन बाहेकका वस्तुहरुमा सरकारको निगरानी, गुणस्तर मापन, जाँच गर्ने कुरामा भएका कमजोरीलाई परामर्श गरेर र विद्यमान कानूनमा टेकेर सुधार गर्ने बताउनुभयो । अहिलेका समस्या समाधान गर्ने र अत्यावश्यक वस्तुको अभाव हुन नदिने, कृत्रिम अभाव हुन नदिने, चाडबाडलाई लक्षित गरी भएका कालाबजारीलाई नियन्त्रण गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्