काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिमा शिक्षित व्यक्तिहरु निर्वाचित हुनसके मात्रै देश समृद्ध बन्नसक्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष भट्टराईले राजनीतिमा पढेलेखेका, नैतिकवान र सादगी मानिसहरु आउनसके मात्रै देश बन्नसक्ने बताउनुभयो । उहाँले चुनाव जित्ने, सरकारमा जाने र मन्त्री बन्नेकुरा राणाकालदेखि नै हुँदै आएको बताउनुभयो ।
अध्यक्ष भट्टराईले आधारभुत संरचनागत रुपान्तरण गर्नका लागि र जुन देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको मुक्तिसहित देशलाई समृद्ध बनाउन सक्षम व्यक्तिको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले देशको सही नेतृत्व गर्न योग्यतासँगै इमान्दारिता आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष भट्टराईले पछाडि फर्किने गरी संविधान संशोधन गर्न खोजेको भए प्रतिवादमा उत्रिने तर पहिचानका आधारहरुमा टेकेर संविधान संशोधन भए स्वागतयोग्य हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्