२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


गृहमन्त्रीसँग सुुरक्षाको व्यवस्था मिलाउन शिक्षामन्त्रीको माग


2.574k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा पर्याप्त सुरक्षाको व्यवस्था मिलाउन गृहमन्त्रीसँग माग गर्नुभएको छ । आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै मन्त्री भट्टराईले यस्तो अपिल गर्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि आक्रणम प्रयास भएको र प्राध्यापकहरूलाई फोन गरेर धम्की आएको बताउँदै मन्त्री भट्टराईले सुरक्षाको उचित प्रबन्ध गर्न माग गर्नुभएको छ ।

सामाजिक सञ्जालमा मन्त्री भट्टराईले लेख्नुभएको छ– ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’

मन्त्री भट्टराईले सामाजिक सञ्जालमा यस्तो लेखेको केहीबेरमा आफूले आवेगमा आएर सार्वजनिक अपिल नगरेको प्रष्टीकरण समेत दिनुभएको छ ।

विभिन्न विद्यार्थी संगठनको धम्कीका कारण त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल १५ दिनदेखि बिदामा हुनुहुन्छ भने रेक्टर प्रा.डा. खड्ग केसी गत बुधबारदेखि तथा रजिस्ट्रार प्रा.डा. केदार रिजाल बिहीबारदेखि कार्यालयमा उपस्थित हुनुहुन्न ।

पदाधिकारी कार्यालय नजाँदा दैनिक प्रशासनिक काम प्रभावित भएका छन् । पदाधिकारीहरू बिदामा बस्नुको मुख्य कारण समाजशास्त्र केन्द्रीय विभाग प्रमुखको नियुक्तिको विषय हो ।

मानविकी तथा समाजशास्त्र संकायकी डिन कुसुम शाक्यले विभागमा टीकाराम गौतमको नाम सिफारिस गर्नुभएको छ । तर विभिन्न विद्यार्थी संगठनले यसलाई मानेका छैनन् ।