काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव बस्नेतले यस्तो बताउनुभएको हो ।
उपमहासचिव बस्नेतले नागरिकका सबै अपेक्षा पूरा गर्न तत्काल नसके पनि जिम्मेवारी बोध गर्न बिर्सन नहुने बताउनुभयो । उहाँले राम्रा कामको श्रेय लिएझैँ असफल कामको जिम्मेवारी पनि नेतृत्व तहले लिन सक्नुपर्ने बताउनुभयो ।
उपमहासचिव बस्नेतले जनताका थुप्रै आवश्यकता, अपेक्षा र आकंक्षाहरु पूरा गर्न बाँकी रहेको भन्दै कतिपय अपेक्षा राजनीतिक नेतृत्वको सानो प्रयासले मात्रै सफल हुने किसिमका रहेको बताउनुभयो । उहाँले राम्रा कुराको जिम्मेवारी लिने र अप्रिय कामको जिम्मेवारी संविधानलाई बोकाउने कुरा समस्याको समाधान नभएको बताउनुभयो ।
उपमहासचिव बस्नेतले व्यवस्था बदलिए पनि समग्र आर्थिक, सामाजिक अवस्था बदलिन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्