२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न हामी सबै मिल्नु पर्छ : उपप्रधानमन्त्री सिंह


91
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताउनुभएको छ । शुक्रवार ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी बिस्तार भएको भन्दै नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीसँग आग्रह गर्नुभयो । नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले नेपालमै बस्ने वातावरण बनाउन युवा जगतले उपयुक्त सुझाव दिन पनि आग्रह गर्नुभयो । उहाँले अधिकारका लागि लडेर ल्याएका अधिकारहरुको संरक्षणमा जुट्न पनि आह्वान गर्नुभयो । उहाँले विरोधको नाममा विरोध गर्दा प्राप्त अधिकार पनि गुम्नसक्ने खतरा हुने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘अधिकारका लागि हामी लड्यौँ । तर अब लडेर ल्याएको अधिकार जिम्मेवारपूर्वक जगेर्ना गर्न जान्नुपर्छ । विरोध गर्दा प्राप्त गरेको अधिकार पनि गुम्यो भने अनि हामीले के गर्ने ? सबै जिम्मेवार हुनुपर्छ । प्लस टु सकिसकेपछि विद्यार्थीहरु विदेश जाने टे«न छ । यत्रो पपुलर इन्जिनियर कलेजमा विद्यार्थी कम छन् । हामीले नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्छ । यहीँ बसेर काम गर्न के चाहिन्छ, त्यो सुझाव दिनुभयो भने सरकारले त्यसमा सहयोग गर्नेछ । जनप्रतिनिधि हुँदैमा सबैकुरा थाहा हुँदैन नि । सुझाव दिनुस् । ऐनमा संशोधन गर्न परे गरौँला । हामी सबै समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न एकरुपता कायम गरी अघि बढ्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थाबाट देशलाई अघि बढाउन सबै एक भएर साथ दिन आग्रह गर्नुभयो । उहाँले नागरिकको अपेक्षाअनुसार देश विकास गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले जनताका माग पूरा गर्नकै लागि अहिलेको सरकार बनेको दाबी गर्नुभयो ।