काठमाडौं । संघीय संसदका दुई वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिनिधि र राष्ट्रिय सभा अन्तर्गतका संयुक्त संसदीय सुनुवाई समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरे निर्विरोध निर्वाचित हुनुभएको हो ।
निर्वाचित दुवै सभापतिहरुलाई सभामुख देवराज घिमिरेले शपथग्रहण गराउनुभयो । दुवै समितिको सभापतिका लागि एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको हो ।
शपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग बोल्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुरप्रसाद गैरेले नेपालको राज्य सञ्चालनको प्रक्रियामा राज्यका समग्र मन्त्रालयहरु र अन्य निकायहरुबाट राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको अनुरुप भएरनभएको अनुगमन गरी समितिले निर्वाह गर्नुपर्ने भुमिकामा काम गर्ने बताउनुभयो । उहाँले संविधानले निर्दिष्ट गरेका लक्ष्य र उद्देश्यहरु पूरा गर्नेगरी समितिले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
संसदीय सुनुवाई समिति सभापति ईश्वरीदेवी न्यौपाने संसदीय सुनुवाई समिति कसैलाई निर्दोष ठहर गर्नको लागि नबनेको बताउनु भयो । उहाँले राज्यको निकायहरुबाट सिफारिस भइ आएका व्यक्तिहरुको विषयमा जनताको राय लिने काम समितिको भएको बताउनुभयो । उहाँले संविधानमा भएको व्यवस्था अनुरुप काम गर्ने पतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्