२५ मंसिर २०८१, मंगलबार | Tue Dec 10 2024


अन्तरमन्त्रालयसँग सम्बन्धित विषयले विकास निर्माणका आयोजनाहरु समयमै सम्पन्न हुन सकेनन् : मन्त्री खड्का


104
Shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विकास निर्माणका आयोजनाहरु अन्तरमन्त्रालयहरुसँग सम्बन्धित रहने हुँदा निर्माण सम्पन्न हुन ढिलासुस्ती भइरहेको बताउनुभएको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

मन्त्री खड्काले नेपालको सन्दर्भमा विकास निर्माणका आयोजनाहरुमा थुप्रै खालका समस्याहरु रहेको बताउनुभयो । उहाँले अन्तरमन्त्रालयहरुसँग सम्बन्धित विषय रहने भएकाले विकास निर्माणका आयोजनाहरुमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नहुने, लागत बढ्ने र अपेक्षाकृत प्रतिफल नआउने समस्याका रुपमा रहेको बताउनुभयो ।

मन्त्री खड्काले महाकाली सिंचाई आयोजनाका सन्दर्भमा आर्थिक वर्ष २०८१-०८२१ का लागि पुँजीगततर्फ एक अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको बताउनुभयो । उहाँले ठेक्कामा कुल तीन अर्ब ७१ करोड ८० लाख रुपैयाँ दायित्व रहेको बताउनुभयो ।

मन्त्री खड्काले श्रोत सुनिश्चितता गरेर अघि बढाउनेबारे छलफल भइरहेको पनि बताउनुभयो । उहाँले आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत भौतिक प्रगति २१ प्रतिशत रहेको र आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत वित्तीय प्रगति पनि २१ प्रतिशत नै रहेको बताउनुभयो ।

वनको समस्या समाधानका लागि रुख कटान गर्न मन्त्रीस्तरीय निर्णय भइसकेको बताउनुभयो । ७ हजार ४२८ वटा रुख कटान गर्ने अवस्था रहेको बताउनुभयो ।