२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024


कानून समितिबाट टीआरसी विधेयक सर्वसम्मत पारित


1.404k
Shares

काठमाडौं । संसदीय समितिले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी)लाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीवारको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपले पारित गरेको हो ।

समितिको बैठकमा विधेयकको मस्यौदा प्रतिवेदन प्रश्तुत गरिएको थियो । विधेयकको सम्बन्धमा आवश्यक छलफल गरी निष्कर्षमा पु¥याउनका लागि सहजीकरण गर्न गठन भएको संयन्त्रले विवादित विषयहरुमा सहमती गरी शिर्ष नेताहरुलाई बुझाएको प्रतिवेदनको आधारमा विधेयकको मस्यौदा आएको थियो ।

सो मस्यौदाउपर सांसदहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । सबै सांसदहरुले विधेयकमाथि धारणा राख्दै सम्पूर्ण रुपमा समर्थन जनाएपछि सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदनको मस्यौदालाई सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । उहाँले समितिको बैठकबाट पारित भएको समितिको प्रतिवेदनलाई प्रतिनिधि सभाको आगामी बैठकमा पेश गर्ने व्यवस्था मिलाइदिनका लागि सभामुखलाई पत्रका साथ अनुरोध गरिने जानकारी दिनुभयो ।

सभापति सुवेदीले विधेयकलाई पारित गर्ने तहसम्म आइपुग्दा यस प्रक्रियामा संलग्न सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विधेयक पीडितमैत्री रहेको पनि बताउनुभयो ।