काठमाडौं । नेपालले घरेलु मैदानमा आयोजना हुने काभा वुमन्स नेसन्स भलिबल लिगको उद्घाटन खेलमा श्रीलंकाविरुद्ध चुनौती प्रश्तुत गर्ने भएको छ ।
नेपाल भलिबल संघले शुक्रवार पत्रकार सम्मेलन आयोजनामार्पmत प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै खेलतालिका पनि सार्वजनिक गरेको हो ।
आगामी साउन १७ गतेदेखि शुरु हुने काभा वुमन्स नेसन्स लिगमा नेपालसहित पाँच राष्ट्र श्रीलंका, इरान, भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । नेपालले यो प्रतियोगिताका लागि रसियासँग घरेलु मैदानमा नै दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो । यद्यपि, नेपालले कुनै सेट पनि जित्न सकेन । पत्रकार सम्मेलनमा संघले प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिएको छ ।
शुक्रबार नै काभा वुमन्स नेसन्स लिगको ट्रफी सार्वजनिक भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले ट्रफी सार्वजनिक गर्नुभएको हो ।
प्रतियोगिताका लागि संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द संयोजकत्वमा विभिन्न २१ वटा उपसमिति पनि गठन भएको छ । सात दिनसम्म चल्ने प्रतियोगितामा पहिलो दिन नेपाल र श्रीलकां तथा भारत र इरानबीच प्रतिष्पर्धा हुने छ ।
नेपालले आफ्नो दोस्रो खेल साउन १८ गते बलियो प्रतिद्वन्द्वी भारतसँग, तेस्रो खेल साउन २० गते माल्दिभ्स र चौथो खेल साउन २१ गते इरानबिरुद्ध प्रतिष्पर्धा गर्ने भएको छ । प्रतियोगिता राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछन् । राउण्ड रोविन लिगपछि अंकतालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच साउन २२ गते सेमिफाइनल हुने छन् । उपाधिका भिडन्त र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्