१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


विमान दुर्घटनामा ज्यान गुमाएका परिवारलाई स्वास्थ्य मन्त्रीले भेटे


741
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताउनुभएको छ ।

बिहीबार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुग्नुभएका मन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

मन्त्री पौडेलले अहिले मृतकहरुको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको र बुधबार नै ४ वटा शवको पहिचान भइसकेको बताउनुभयो । उहाँले शवको पहिचान भएपनि म्याचिङ गर्न बाँकी रहेको बताउनुभयो ।

मन्त्री पौडेलले बिहीबार बेलुकासम्म सबैको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको बताउनुभयो । उहाँले पहिचान हुन नसकेको शवहरुको भने डिएनए गर्नुपर्ने भएकाले केही समय लाग्नसक्ने बताउनुभयो ।

मन्त्री पौडेलले नेपालको हवाई क्षेत्र धेरै सुरक्षित हुन नसकेको भन्दै उहाँले वर्षेनी ठूलो संख्यामा क्षति व्यहोर्नु पसररहेको बताउनुभयो । उहाँले नेपाललाई पर्यटकीय गन्तव्य बनाइरहने कुरा गर्दा यस प्रकारका असुरक्षाले क्षति पुग्ने बताउनुभयो । उहाँले सरकारले भएका कमजोरी र लापरवाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने पनि बताउनुभयो ।

मन्त्री पौडेलले पुराना र कण्डिसन बिग्रिएका जहज प्रयोग गर्न र मापदण्ड पूरा नभएका विमान उडान गर्न रोक लगाउँदै विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने बताउनुभयो ।