काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढंगले सम्पन्न गराएर छाड्ने बताएका छन् ।
पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आज पार्टी मुख्यालय धुम्बाराहीमा गरेको बोगटीको चौथो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पार्टीमा अन्तरविरोध खडा गर्ने, भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरी पार्टी एकतालाई सुदृढ गराएर छाड्ने बताएका हुन् ।
उनले सानातिना कुरा, आफ्ना हित र अहंकारमा अल्झियो भने शहीदको सपना पूरा गर्न नसकिने बताए ।
शहीदका सपना पूरा गर्न पनि पार्टी एकतालाई सुदृढीकरण गर्दै मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले पार्टी एकतालाई भत्काउन घुसपैठ गर्ने, अन्तरविरोध चर्काउने र दुई अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले यसबाट सचेत हुनुपर्नेसमेत बताए ।
त्यस्ता अन्तरविरोधलाई चिर्दै प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदै पार्टी एकतालाई टुंगोमा पुर्याउने उनको भनाइ थियो ।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा दुई अध्यक्ष हुँदा केही अप्ठ्याराहरु आउने भए पनि त्यसलाई सहज रुपमा समाधान गरिने बताए ।
उनले मुलुक अहिले नयाँ युगमा प्रवेश गरेको भन्दै त्यो युगलाई सार्थक परिमाणमा पुर्याउनुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्