काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निरन्तरताको रुपमा तेस्रो र समग्रमा चौथो पटक प्रधानमन्त्री बन्नुभएको छ । २०७२ साल असोज नयाँ संविधान जारी भएपछि पहिलो पटक प्रधानमन्त्री बन्नुभएका ओली, २०७४ मंसिरमा भएको आमनिर्वाचन पछि दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो । त्यसपछि नेकपामा विभाजन आएपछि उहाँले संसदको विश्वासको मतको सामना गर्दा उहाँको पक्षमा विश्वासको मत आएन राजीनामा गर्नुभयो । तर, धारा ७६ (२) बमोजिम अर्को सरकार बन्न नसकेपछि ओली पुनः संसदमा ठूलो दलको नेताको हैसियतमा तेस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो । पहिलो र दोस्रो पटक माओवादीको समर्थनमा प्रधानमन्त्री बन्नु भएका ओलीले अहिले नेपाली कांग्रेसको समर्थन पाउनु भएको छ ।
नेपालको ४१औं प्रधानमन्त्री बन्नुभएका ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको सन्तानको रुपमा भएको हो । तेह्रथुममा जन्मिएका ओलीको बाल्यकाल भने झापामा वितेको थियो । किशोर अवस्थादेखि नै बामपन्थी आन्दोलनमा लाग्नु भएका ओलीले २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो ।
ओली चर्चित झापा विद्रोहका एक मुख्य पात्र समेत हुनुहुन्छ । झापा विद्रोहका क्रममा पक्राउ पर्नु भएका ओलीले १४ वर्ष लामो जेल जीवन समेत विताउनु भएको छ । संसदीय राजनीतिक यात्रामा वि.सं २०४८, २०५१ र २०५६ सालमा झापाबाट लगातार तत्कालिन प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । पहिलो संविधान सभा २०६४ निर्वाचनमा झापा क्षेत्र नं ७ बाट पराजित हुनुभएका ओली दोश्रो संविधानसभामा भने झापा क्षेत्र नं ७ बाट निर्वाचित हुनुभएको थियो ।
पछिल्लो पटक पनि झापाबाटै निर्वाचित ओली भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटमा बस्दै आउनु भएको छ । प्रखर वक्ता मात्रै होइन् एक अध्ययनशील राजनीतिज्ञको समेत छवि बनाउनुभएका ओली जेष्ठ नागरिक, युवा, किशोर किशोरदेखि बालबालिकाबीचमा पनि सहजै घुलमिल गर्ने र उत्तिकै आत्मिय भाव दर्शाउन सक्ने स्वभावको हुनुहुन्छ ।
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमालेको अल्पमतको सरकारमा गृहमन्त्री बन्नु भएका ओली लोकतन्त्र स्थापनापछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । त्यसपछि माओवादी समर्थनमा २०७२ साल असोज २४ गते नेपालको ३८औं प्रधानमन्त्री बन्नु भएका ओली २०७४ साल फागुनमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो । त्यसपछि केही समय अल्पमतको सरकारको प्रधानमन्त्री बन्नुभएका ओली संसद विघटनमा जानुभएको थियो ।
सर्वोच्च अदालतले संसद विघटन वदर गरिदिएपछि नयाँ सरकार बनेसँगै बहिर्गमन हुनुभएका ओली अहिले नेपाली कांग्रेसको समर्थनमा दुइ तिहाइ बहुमतसहित फेरि प्रधानमन्त्री बन्नु भएको हो । नयाँ प्रधानमन्त्रीका रुपमा उहाँलाई प्रचण्ड बहुमतको सुविधा छ भने मुलुकलाई स्थिरता, सुशासन र समृद्धिसहित जनतामा आशाको सञ्चार गराउनुपर्ने चुनौती छ । नयाँ प्रधानमन्त्रीको रुपमा ओलीलाई सफलताको शुभकामना ।
प्रतिक्रिया दिनुहोस्