२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


ओलीप्रति दाहालको आक्रोश, अबको सत्ता सहयात्रीहरुले मैले जस्तो धोका खान नपरोस्


416
Shares

गृष्मा राजभण्डारी र मिरा बस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट बिदा लिंदै गर्दा शुक्रबार प्रतिनिधिसभाको रोष्ट्रमबाट आक्रोशपूर्ण सम्बोधन गर्नुभयो । विगत डेढ वर्षमा आफूले गरेका कामको बखानबाट मन्तव्य शुरु गर्नुभएका प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेबीचको सहकार्यमाथि कठोर प्रहार पनि गर्नुभयो । सम्बोधनका क्रममा दाहालको प्रमुख निशानामा एमाले अध्यक्ष ओली रहनुभयो ।

प्रतिनिधिसभाको रोष्ट्रमबाट प्रधानमन्त्रीको हैसियतमा अन्तिम सम्बोधन गर्दैगर्दा दाहालले कांग्रेस र एमालेबीचको सहकार्यमाथि कडा प्रहार गर्नुभएन दाहालले अध्यक्ष केपी शर्मा ओलीलाई मुख्य निशाना पनि बनाउनुभयो । ओलीप्रति आफूमा शंका रहे पनि उहाँले पछिल्लो समय आफूलाई मिठो कुरा गरेर धोका दिएको गुनासो गर्नुभयो । अगाडिबाट मुसार्ने र पछाडिबाट छुरा हान्ने काम ओलीले गरेको दाहालको आरोप लगाउनुभएको थियो ।

ओलीले बामपन्थीहरु मिल्नुपर्छ, समाजवाद ल्याउनु पर्छ भनेर चिप्ला कुरा गरेको गुनासो पनि दाहालको थियो । स्वर्ग गए पनि संगै जाने नर्क गए पनि संगै जाने भनेका ओलीले यो खालको षडयन्त्र गर्न सक्लान भन्ने आफूले बुझ्न नसकेको गुनासो पनि गर्नुभयो । कांग्रेस र एमालेले सत्ता गठबन्धनका लागि गरेको सहमतिलाई अध्याँरो र बन्द कोठामा बसेर झुठको खेती गरेको आरोप लगाउनुभयो ।

उद्योगपति विनोद चौधरीको होटलमा बसेर गठबन्धनको गृहकार्य गरेको र ब्यापारी रामेश्वर थापाको घरमा सम्झौतमा हस्ताक्षर गरिएको तर्फ संकेत गर्दै दाहालले कांग्रेस र एमालेलाई मिलाउने काम माफियाहरुले गरेको भन्न पनि पछि पर्नुभएन ।

आफ्नो सरकारले लामो समयदेखि मौलाएको भ्रष्टाचारलाई नियन्त्रण गर्न खोजेपछि माफियाहरु आत्तिएको भन्दै त्यसकै परिणाम स्वरुप नयाँ समीकरण गरिएको जिकीर पनि गर्नुभयो । भ्रष्टाचारका ठूला फाइल खुल्न थालेपछि आफ्नो नाम पनि मुछिने डर केही नेताहरुमा रहेको उहाँको जिकीर थियो ।

प्रधानमन्त्री दाहालले २०४७ सालदेखि २०६३ सालसम्मका १६ वर्षमा १५ वटा सरकार बनाउने कांग्रेस–एमाले नै हुन भन्दै उनीहरुले अघि सारेको स्थिरताको कुराप्रति पनि प्रश्न उठाउनुभयो । यसैगरी संविधान संशोधन गर्ने दुई दलको सहमतिप्रति पनि दाहालले कडा चेतावनी दिनुभएको छ । जनक्रान्तिको बलमा बनेको र विभिन्न अल्पसंख्यकहरुको अधिकार सुनिश्चित गरिएको संविधानबाट पछि फर्किने काम भयो भने त्यो सह्य नहुने चेतावनी दिनुभयो ।

जाँदाजाँदै एक घण्टा दश मिनेट बोल्नु भएका प्रधानमन्त्री दाहालले अबका सत्ता सहयात्रीहरुले आफूले जस्तो धोका खानु नपरोस भन्ने सन्देश पनि दिनुभयो ।