१७ मंसिर २०८१, सोमबार | Tue Dec 3 2024


कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ


182
Shares

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार बालुवाटारमा स्व. सीता दाहालको पहिलो वार्षिकीमा श्रद्धा सुमन अर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको आवश्यकता जनताको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु रहेको बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले आन्दोलनलाई रक्षा गर्दै नागरिकको चाहना बमोजिम काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले विभिन्न बहानामा प्रतिगामी तत्वहरुले आन्दोलनमाथि धावा बोल्ने काम गरिरहेको भन्दै यसलाई माथि उठ्न दिनु नहुने बताउनुभयो ।

उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अहिलेको आवश्यकता भनेको यो आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाएर अहिलेका उपलब्धिहरु खोस्न चाहने प्रतिगामी तत्वहरुलाई, एउटा वा अर्को प्रकारले यसलाई खोस्न मद्दत गर्नेहरुलाई हामीले माथि उठ्न दिनु हुँदैन ।’

उपाध्यक्ष श्रेष्ठले सीता दाहालको निधनबाट पार्टीलाई अभिभावकको अभाव खड्किरहेको बताउनुभयो ।