२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


बेलायतमा भएको संसदीय चुनावमा लेबर पार्टीको बहुमत


1.287k
Shares

एजेन्सी । बेलायतको संसदीय चुनाव जित्दै लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ ।

कियर स्टार्मर नेतृत्वको लेबर पार्टीले सरकार बनाउनका लागि आवश्यक ३ सय २६ सिटबाट अगाडी बढी सकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शुरुआती नतिजामा लेबर पार्टीले ३ सय ४४ सिट जितिसकेको छ । तर वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टीले अहिलेसम्म ७२ सिट मात्र जितेको छ ।

मत सर्वेक्षणले बेलायतका कुल ६ सय ५० सिटहरुमध्ये लेबर पार्टीले ४ सय १० सिट जित्ने र कन्जरभेटिभ पार्टी १ सय ३१ सिटमा समेटिने देखाएको थियो । सन् २०१९ मा कन्जरभेटिभ पार्टीले ३ सय ६४ सिट जित्दा लेबर पार्टीले २ सय ३ सिट मात्र जितेको थियो ।

यसपटक स्थिति उल्टिएको छ र लेबर पार्टीले भारी बहुमत हासिल गरेको छ । ६१ वर्षीय कियर स्टार्मर बेलायतको नयाँ प्रधानमन्त्री बन्ने छन् । उनी सन् २०२० मा लेबर पार्टीको नेता चुनिएका थिए । चुनावमा खराब नतिजा आएपछि कन्जरभेटिभ पार्टीका नेताहको आलोचना भइरहेको छ ।