काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ग्रिन हाइड्रोजन स्वच्छ उर्जा रुपान्तरणमा योगदान गर्ने ठूलो सम्भावनाको रुपमा रहनसक्ने देखिएको बताउनुभएको छ ।
बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले यस्तो बताउनुभएको हो ।
मन्त्री बस्नेतले विद्युत खरिद बिक्री सम्झौता भएका र विद्युत उत्पादनको विभिन्न चरणमा रहेका आयोजनाबाट आगामी केही वर्ष भित्रमा ठूलो मात्रामा उत्पादन हुने सम्भावना रहेको बताउनुभयो । उहाँले जलविद्युतको खपतलाई बढाउन र दिगो तथा स्वच्छ औद्योगिकरणको गतिलाई तिब्रता दिन ग्रिन हाइड्रोजनको उत्पादन र उपयोग आगामी दिनमा अपरिहार्य देखिएकाले ग्रिन हाइड्रोजन नीति, २०७९ ल्याइएको बताउनुभयो । उहाँले यसको कार्यान्वयका लागि आवश्यक नीतिगत, संस्थागत र कार्यप्रणालीगत कदमहरु प्राथमिकताकासाथ अघि बढाइएको पनि बताउनुभयो ।
मन्त्री बस्नेतले हाल थप ८ सय मेगावाटको सोलार आयोजनाहरुको लागि प्रतिष्पर्धामार्फत विद्युत खरिद सम्झौता गर्न बोलपत्र आह्वान भइसकेको र मूल्यांकनको प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्