सरोज अधिकारी/नवीन स्थापित (इमेज)
काठमाडौं, भदौ २९ । सांसदहरुले कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापालाई प्रतिनिधिसभा बैठकमै र्याखर्याती पारेका छन् ।
गृहमन्त्री थापाले भने विगतकैजसरी छानबिनकै क्रम चलिरहेको भन्दै झारा टार्ने जवाफ दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्याको विषयमा अपराधी पक्रने काम के भइरहेको छ ? भनेर जवाफ नदिए संसद चल्न नदिने चेतावनी दिएको थियो ।
त्यसपछि जवाफका लागि संसद भवन पुगेका गृहमन्त्री थापाले संघीय संसदका दुवै बैठकलाई चित्तबुझ्दो जवाफ दिन सकेनन् ।
गृहमन्त्री थापाले सांसदहरुले उठाएका मागकाबारेमा सामान्य जानकारीमात्रै दिने शैलीबाट बैठकमा बोलेपछि विपक्षी सांसदहरुले उनीसँग एक/एक गरी प्रश्न गरेका थिए ।
गृहमन्त्री थापाले पन्त हत्यामा संलग्नको खोजी भइरहेको पूरानै भनाइ दोहोर्याए ।
पन्त परिवार र कारबाहीको माग गर्दा आन्दोलनमा मारिएकाका परिवारलाई १० लाख क्षतिपूर्ति दिएको भन्दै मन्त्री थापाले छानबिनको क्रम चलिरहेको बताए ।
गृहमन्त्री थापाको भनाइबाट सन्तुष्ट नबनेका सांसदहरुले सरकार नै बलात्कारी जोगाउन लागिपरेको त छैन ? भन्ने गम्भीर प्रश्न गरेका थिए ।
उनीहरुले सरकार वास्तविकतालाई ढाकछोप गर्ने र अपराधी लुकाउने काममा लागेको बताए ।
छानबिन समितिका सदस्यले राजीनामा दिने, फेरि फर्कने र प्रधानमन्त्री केपी शर्मा ओली घटनालाई प्रभावित बनाउने गरी लागेको भन्दै सांसदहरुले आलोचना गरे ।
राजपा नेपालका सांसदहरुले कालोझन्डा देखाउँदा पक्रेर मृत्युदन्ड दिन थालिएको भन्दै कस्तो लोकतान्त्रिक अभ्यास हो ? भनी प्रश्न गरे ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई कालोझन्डा देखाएपछि पक्राउ परेका बाँकेका राजापा कार्यकर्ताको मृत्यु भएकोप्रति राजपा नेताहरुले चर्को असन्तुष्टि राखेका थिए ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको झन्डै दुई महिना पुग्न लाग्दासमेत हत्यारा पत्ता नलाग्नु गम्भीर छ । यही विषयमा संसदमा हरेक दिन बहस भइरहेको छ । तरपनि जनताको रक्षक सरकारले विषयलाई गम्भीरता साथ लिएन कि भन्ने प्रश्न उठिरहेकै छ ।
प्रतिक्रिया दिनुहोस्