
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरुपको बजेट निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २२ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्न जोड गरिएको बताउनुभयो । उहाँले उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले तेस्रो लगानी सम्मेलनबाट लगानी भित्र्याउनका लागि स्वदेशी त्था विदेशी लगानीकर्तामाझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको जिकिर गर्नुभयो । उहाँले लगानी प्रवर्धनमा बाधक देखिएका ऐनहरु अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थिति क्रमशः अन्त्य भएको बताउनुभयो । साथै उहाँले सरकार निजी क्षेत्रको प्रवर्धनका पक्षमा रहेको पनि बताउनुभयो ।
‘सरकार निजी क्षेत्रको प्रवर्धनका पक्षमा छ । नीतिगत, कानूनी, संस्थागत, संरचनागत र कार्यशैलीमा देखिएका समस्या समाधान गर्ने क्रममा सरकार लागिरहेको छ । यसमा थप दृढताका साथ बढ्न जरुरी छ । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्न जोड गरिएको छ । अब हाम्रो ध्यान नीति तथा कार्यक्रम अनुरुपको बजेट निर्माणमा केन्द्रित छ । सरकारको तर्फबाट म भन्न चाहन्छु ढुक्क भएर उर्जामा लगानी गर्नुस् । तपाईंहरुको लागि संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हरसम्भव प्रयास गर्नेछ ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
प्रधानमन्त्री दाहालले विद्युत निर्यातको दीर्घकालीन सम्झौता उर्जा विकासको लागि कोशेढुंगा हुने बताउनुभयो । उहाँले नेपाल विद्युत आयात गर्ने मुलुकबाट विद्युत निर्यात गर्ने मुलुकमा रुपान्तरित भएको जिकिर गर्नुभयो । उहाँले स्वदेशभित्रै विद्युत खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको बताउनुभयो । पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय सवारी साधनलाई प्रोत्साहित गरी विद्युतको खपत बढाउँदै जाने सरकारको योजना रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्