११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


१२४ जनालाई टर्की पठाउने भन्दै ४ करोड ठगी गर्ने पक्राउ


0
Shares

काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनि ४ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलव हुने प्रलोभन देखाइ १२४ जनाबाट ४ करोड ३४ लाख उठाइ फरार रहेका विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले श्रेष्ठलाई काठमाडौं ७ चाबहिलबाट पक्राउ गरी अनुसन्धन अघि बढाइएको बताउनुभयो । ४२ वर्षीय श्रेष्ठ कास्की पोखरा महानगरपालिका ५ का रहेको बताउनुभयो ।

त्यस्तै अमेरिका र क्यानडा लैजाने भनि मानव तस्करी गरी ठगि गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको प्रमुख भट्टराईले बताउनुभयो । उहाँले पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा, खिजिदेम्बा गा.पा. २ का वर्ष ४८ का जगतबहादुर तामाङ, जिल्ला तनहुँ ऋषिङ्ग गा.पा. २ का वर्ष ४६ का विष्णुबहादुर बराली र वर्ष ४८ का तनहुँ ऋषिङ्ग गा.पा. २ का जंगबहादुर वि.क. (बराल) लाई पक्राउ गरी सार्वजनिक गरेको बताउनुभयो ।

उनीहरुले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगाण्डा लगेर राहदानी तथा डल खोसी ९ महिनासम्म अलपत्र पारी राखेको बताउनुभयो । केन्या र युगाण्डामा समेत एजेण्ट राख्ने गरेको, अमेरिका पु¥याउन ब्राजिल, कोलोम्बिया, मेक्सिको मध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको, पक्राउ परेका तीन जना भरतको दिल्ली पहाडजंगस्थित होटलमा बसी संगठित रुपमा मानव तस्करीमा संलग्न रहेको बताउनुभयो ।

त्यस्तै प्रहरीले विभिन्न अनलाइन बेटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्नै एक जना व्यक्तिलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर ८ का २४ वर्षीय अनिल ढुंगाना रहेको प्रमुख भट्टराईले बताउनुभयो । ढुंगानाले विभिन्न माध्यमबाट २ अर्ब १ करोड बढीको कारोबार गरेको खुलेको बताउनुभयो । ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको बताउनुभयो । १५ वटा वालेटहरु प्रयोग गरी ५ करोड भन्दा बडी रकम कारोबार गरेको, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको बताउनुभयो ।

पक्राउ पर्नेहरुलाई नेपालको कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको बताउनुभयो ।