१८ जेष्ठ २०८२, आइतबार | Mon Jun 2 2025


सिपी लोहनीको निधन


13.312k
Shares

काठमाडौं । अभिनेता एवं गायक सिपी लोहनीको निधन भएको छ ।

सोमबार मध्यान्ह उहाँको काठमाडौंस्थित अन्नपुर्ण अस्पतालमा उपचारका क्रममा ८६ वर्षको उमेरमा निधन भएको हो ।

लोहनी लामो समयदेखि अल्जाइमर र पार्किन्सनबाट पीडित हुनुहुन्थ्यो । उहाँको निधनसँगै अस्पतालमा पुगेर उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नेको भीड छ ।

कलाकार लोहनी निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो चलचित्र माईतीघरका अभिनेतासमेत हुनुहुन्थ्यो । सिपी लोहनीको नामबाट प्रसिद्ध उहाँको पूरा नाम भने चिदाम्बरप्रसाद लोहनी हो ।

श्रद्धाञ्जली दिन पुग्नुभएका कुटनीतिज्ञ रमेशनाथ पाण्डेले स्व. लोहननीले नेपाली फिल्म जगतमा व्यवसायीकरणको प्रारम्भ गर्नुभएको बताउनुभयो । उहाँको निधनमा नेपाली कला क्षेत्र अपूरो भएको टिप्पणी गर्नुभयो । त्यस्तै स्व. लोहनीका नातेदार (भान्जा) निर्मल पाण्डेले नेपाली संगीतमा स्व. लोहनीको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले स्व. लोहनीले अभिनयका साथसाथै गायनमा पनि कला प्रश्तुत गर्नुभएको बताउनुभयो ।

लोहनीकी धर्मपत्नी माला सिंहले राम्रो श्रीमान भएको र धेरै स्मरण गरिरहेको बताउनुभयो ।

अभिनेतासँगै गायकसमेत रहनुभएका सिपीको माईतीघर सिनेमामा काम गर्दैगर्दा आफ्नो समयकी चर्चित एवं सफल बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेपछि विवाह भएको थियो । माइतीघर सन् १९६६ मा रिलिज भएको थियो । लोहनी झ्याउरे गीतका जानकार समेत हुनुहुन्थ्यो ।