३ असार २०८१, सोमबार | Mon Jun 17 2024


आगामी डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेछौँ : प्रधानमन्त्री दाहाल


130
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको बताउनुभएको छ । आइतवार काठमाडौंको चन्द्रागिरीमा मस्र्याङ्दी—काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताउनुभयो । उहाँले उत्पादित जलविद्युत देशभित्र नै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार भइरहेको र पेट्रोलियम पदार्थको आायतमा पनि गिरावट ल्याएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरु प्रभावित भएको बताउनुभयो । उहाँले नेपालको जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको बताउनुभयो ।

‘अहिले करिव ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको छ । पूर्णरुपमा विद्युतीकरण गर्नसक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो । नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट पनि हो ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले प्रशारण लाइन बिस्तारमा वन क्षेत्रको प्रयोग, रुख कटान तथा जग्गा अधिग्रहणमा ठूलो समस्या रहेको बताउनुभयो । उहाँले विकास र पर्यावरणबीच सन्तुलन कायम हुनेगरी योजनाहरु अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी एवं नर्वे सरकार तथा एशियाली विकास बैंकको आर्थिक सहयोगमा मस्र्याङ्दी—काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशन निर्माण गरिएको हो ।